धरान/कृषि उपज बजारस्थल धरानबाट चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्म ८५ करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार गरेको छ । यो परिणाम अझै बढ्ने बजारस्थलले जनाएको छ ।
यो गत वर्षभन्दा २४ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । प्रदेश १ को पहाडी जिल्ला भोजपुर, धनकुटा, तेह्रथुम, खोटाङलगायतबाट मात्रै ८ हजार ५२९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तलाका लागि प्रख्यात धनकुटाको खोकु, मौनाबुदुक र भोजपुरबाट विशेषमात्रामा सुन्तला धरान आइपुग्ने गरेको कृषि उपज बजार स्थलका अध्यक्ष एवम् व्यापारी पर्शुराम कटुवालले जानकारी दिए ।
यस वर्ष थोकमा औषत सुन्तलाको मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको छ । गत वर्ष प्रतिकेजी ९० रुपैयाँ मात्रै रहेको थियो । उत्पादनका हिसाबले पनि गत वर्षभन्दा एक हजार ८ सय १० मेट्रिक टन बढी रहेको बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । पछिल्लो तीन वर्षको आँकडामा यो वर्ष सुन्तला उत्पादन र मूल्य उच्च हो ।
आर्थिक वर्ष २०७३÷०७४ मा ६८ करोड रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको थियो । जुन बेला थोकमा औषत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको थियो । तर, यो वर्ष हरेक हिसाबले उच्च रहेको व्यवस्थापक भट्टराईले जानकारी दिए । ‘उत्पादन र बजार मूल्य नै यो वर्ष अन्य वर्षको भन्दा उच्च देखिन्छ ।’ उनले फोनसम्पर्कमा भने, ‘विगत वर्षमा प्रतिकेजी ८५ मा बिकेका सुन्तला यो वर्ष औषत एक सय रुपैयाँभन्दा कम भएन ।’ उत्पादन र मूल्यका कारणले यो वर्ष किसानले राहत महसुस गरेका छन् । ‘दुई वर्ष अगाडिभन्दा त राम्रै उत्पादन भएको हो ।’
धनकुटा खोकुका कृषक तथा स्थानीय व्यापारी सन्तोष राईले फोन सम्पर्कमा भने । तर, वार्षिक रूपमा सुन्तलाको बोट सुक्ने तथा किराको प्रकोप बढेपछि भने सुन्तला कृषकहरू चिन्तित बन्न थालेका छन् । देशमै स्वादिलो सुन्तला मानिने खोकुमा पछिल्लो वर्षहरूमा सुन्तला उत्पादनमा ह्रास आएको कृषकहरूको भनाइ छ । ‘पानी नपरेर सुख्खाका कारणले बोट सुक्ने र किरा लाग्ने समस्या बढेको थियो । दुई वर्ष अघि त उत्पादन ठप्पै थियो’ उनले भने । उनले झण्डै १७ रोपनी जग्गामा सुन्तला लगाएका छन् । यो वर्ष ३ गाडी सुन्तला बिक्री गरेको उनी बताउँछन् । ‘अरुको गरेर झण्डै ३०–३५ गाडी बजार पु¥याइयो होला’–उनी भन्छन् । मौसम प्रतिकूल बन्दा सुन्तला उत्पादनमा पनि प्रभाव पर्ने गरेको उनको भनाइ छ ।
कृषि उपज बजारमा धनकुटा र भोजपुरको सुन्तलाले झण्डै ४०–४० प्रतिशत बजार ओगटेको छ भने सङ्खुवासभा, तेह्रथुम, पाँचथर र खोटाङले मात्रै २० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । थोक व्यापारी टीकाराम श्रेष्ठका अनुसार २५–३० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । ‘३०–३५ गाडी जति बेचियो ।’ उनले भने, ‘पोरको भन्दा दाम राम्रै आएको हो । ८० भन्दा तल झरेन १२० माथि गएन ।’ कृषि उपज स्थलबाट दैनिक ५ देखि ७ टन सुन्तला कारोबार भएको बजारस्थलका अध्यक्ष कटुवालले जानकारी दिए ।
कात्तिक महिनादेखि शुरु भएर फागुन अन्तिम सातासम्म सुन्तलाको कारोबार हुने गरेको छ । गत वर्षभन्दा यो वर्ष अझै सुन्तलाको परिणाम बढ्ने सम्भावना छ । ‘पात्ले फार्मको अझै १० गाडी सुन्तला आउन बाँकी छ,’ उनले फोनसम्पर्कमा भने । पुष र माघ सबैभन्दा बढी सुन्तलाको कारोबार हुन्छ । धरानबाट मुख्य गरी पूर्वी बजार इटहरी, विराटनगर, दमक, बिर्तामोड, राजबिराज, लहान, जनकपुरलगायतका शहरमा जाने गरेको छ । विगतमा भारतीय बजारमा पनि पुग्ने नेपालका सुन्तला यो वर्षदेखि भारतीय सरकारले फलफूलजन्यमा कडीकडाउ गरेका कारणले ठप्प भएको छ ।