बिर्तामोड /  प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट एकतामा जुट्न अन्य दलहरुसँग आग्रह गरेका छन् । नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने भन्दै ओलीले एकतामा आए उचित जिम्मेवारी दिने समेत बताए ।
नेपाल कम्युनिष्ट पार्टीले झापाको सुखानीमा आयोजना गरेको शहिद सप्ताह समापन कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डसँगै आएका ओलीले एकतामा आउन नेपालका कम्युनिष्टलाई आग्रह गरे । पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म शहिद सप्ताह मनाउँदै आएको छ ।
तत्कालिन शासकले २०२९ सालमा जेल सार्ने बहानामा फागुन २१ झापा र इलामको सीमाना सुखानीमा लगेर हत्या गरेका पाँच जना शहिदका नाममा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकीकरण ऐतिहासिक भएको बताए ।
उनले भने, ‘यो असाधारण प्रक्रियाबाट एक भएको पार्टी हो । अबको राजनीति शान्तिपूर्ण तवरबाट गर्न सकिन्छ भनेर छुट्टै धारबाट आएको नेकपा माओवादी केन्द्रलाई विश्वासमा ल्याएर एक गराएको पार्टी हो ।’ नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी एकतामा प्रचण्डको असाधारण त्याग रहेको बताए । उनले भने, ‘पार्टी एकीकरणमा उहाँले गर्नु भएको त्याग असाधारण छ ।’
बामपन्थी पार्टीको सरकारले एकबर्षमा धेरै काम गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । ‘यो एक बर्षमा कुनै अन्य बर्षको भन्दा डेढ गुण बढी काम गरेका छौं, ओलीले भने–‘अब आउने बर्ष यो भन्दा बढी काम गरेर देखाउँछौ ।’ उनले अब बिकास र समृद्धिमा ध्यान दिएर अघि बडु्ने समेत बताए ।
२००७ सालको क्रान्ति अपूरो भएकै कारण झापा विद्रोहको आवश्यक्ता परेको ओलीले बताए । उनले भने, ‘सुखानीका शहिदहरुको नेपालको इतिहासमा धेरै महत्व छ । त्यस अघि भएका आन्दोलन पूर्ण नभएकै कारण झापा विद्रोह शुरु भएको हो ।’