विराटनगर/ निर्माण सम्पन्न भएको डेढ वर्षपछि भारततर्फको एकीकृत जाँच चौकी (आईसीपी) बुधबार उद्घाटन गरी सञ्चालनमा आएसँगै इन्धन बोकेर आउने ट्याङ्कर यही बाटो हुँदै नेपाल प्रवेश गर्ने भएको छ । भारतीय पक्षले यसको तयारी थालेको हो । 
 
नेपालतर्फको आईसीपीको निर्माण कार्य भने धमाधम भइरहेको छ । नेपालतर्फ विराटनगर–१८ बुधनगरमा १ सय ३२ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ । नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत भारतीय भू–भाग जोगवनीमा निर्माण सम्पन्न भएको आईसीपीको उद्घाटन भारतका गृहमन्त्री राजनाथ सिंहले गरे । उनले भारतको दिल्लीमा आयोजित कार्यक्रमबाट गृहमन्त्री सिंहले एकीकृत जाँच चौकी जोगवनीसहित देशभरका २७ वटा परियोजनाको उद्घाटन गरेका हुन् । गृहमन्त्री सिंहले आईसीपीको भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए । भारततर्फ ६४ हेक्टर क्षेत्रफलमा प्रमुख प्रशासकीय भवन, डिस्पेन्सरी ब्लक, एक्पोर्ट–इम्पोर्ट क्षेत्र, निरीक्षक केन्द्र, पशु क्वारेन्टाइन, यात्रु र कार्गो टर्मिनल भवन, सुरक्षा आवास, चालक विश्राम कक्ष, भ्यूटावर निर्माण गरिएको छ । 
 
जोगवनीमा आयोजित कार्यक्रममा विराटनगर भन्सारका प्रमुख अधिकृत मिमांशु अधिकारी र नेपाली उद्योगी व्यवसायीको समेत उपस्थिति थियो । जोगवनीस्थित  आईसीपीको औपचारिक उद्घाटनसँगै भन्सार सहजीकरणका लागि इन्धन बोकेर आउने ट्याङ्करलाई प्रवेशाज्ञा दिने तयारी भइरहेको आईसीपी जोगवनीका निर्देशक राकेशकुमार रमनले जानकारी दिए । नेपालतर्फको भू–भाग विराटनगरको बुधनगरमा निर्माणको अन्तिम चरणमा रहेकोले आईसीपी हस्तान्तरण हुन अझै समय लाग्ने भएपछि तत्काललाई इन्धन बोकेका ट्याङ्कर त्यही बाटो हुँदै प्रवेश गर्नेछन् । आईसीपीको बाटो हुँदै यसअघि मङ्सिर २६ गतेदेखि नै खाली मालवाहक तथा ट्याङ्करहरू भारततर्फ जान थालिसकेका थिए । 
 
‘भन्सार तथा व्यापार सहजीकरणका लागि हामीले इन्धन बोकेका ट्याङ्करलाई प्रवेश अनुमति दिएका छौं’ निर्देशक रमनले भने, ‘नेपाली भन्सारपक्षले व्यवस्थापन मिलाएलगत्तै दैनिक ७० इन्धन बोकेका ट्याङ्करले यही मार्ग प्रयोग गर्नेछन् । त्यसका लागि नेपाली भन्सार अधिकारीले तयारी गर्नु पर्नेछ ।’ विराटनगर भन्सार कार्यालय रानीका भन्सार अधिकृत एवम् सूचना अधिकारी मणिराज पौड्यालले भारतीय भन्सार पक्षसँगको सहकार्य र सल्लाहअनुसार काम अगाडि बढाइने बताए । उनका अनुसार प्रवेश अनुमति दिएको आधिकारिकताका लागि भारतीय भन्सारपक्षले पत्राचार गर्नु पर्नेछ । 
 
भारतीय क्षेत्रमा बनेको आईसीपीमा समेत भन्सार जाँचपास शुरु भएको छैन । साविक स्थानबाटै भन्सार जाँचपास भइरहेको भारतीय पक्षले नेपालतर्फको आईसीपीको काम नसकिँदासम्म काम गर्न असजिलो हुने बताउँदै आएको छ । भारतीय भूमिमा रहेको आईसीपी सीमाक्षेत्र हेर्ने सुरक्षा बल मातहतमा रहेको छ । नेपालतर्फ बनिरहेको आईसीपी भने विदेश मन्त्रालयअन्तर्गत पर्दछ । निर्माणको अन्तिम चरणमा रहेको आईसीपी सन् २०१९ मे (जेठ) सम्मका लागि अन्तिम निर्माण म्याद थप गर्ने तयारीमा रहेको निर्देशक रमनले जानकारी दिए । यसअगाडि मार्च ३१ सम्मको म्यादलाई अन्तिम मानिएको थियो । 
 
निर्माणको जिम्मेवारी पाएको भारतीय कम्पनी दिनेशचन्द्र एण्ड आर.अग्रवाल इन्फा डटकम अहम्दावादका परियोजना व्यवस्थापक एवम् इञ्जिनियर अवधेशकुमार साहले निर्माण सम्पन्नपछि हस्तान्तरण गर्ने समय मार्च ३१ लाई लक्ष्य मानेर काम भइरहेको बताए । इञ्जिनियर साहका अनुसार विद्युत् सव–स्टेशन र प्रोसेसिङ यार्डको कामका लागि आवश्यक पर्ने सामग्री पुल भाँचिएपछि रोकिएपछि केही समस्या देखिएको छ । 
 
भारतीय भू–भागमा निर्माण सकिन लाग्दा नेपाली भू–भागमा दुईवर्षअगाडि आईसीपीको काम थालिएको थियो । काम थालेको दुई वर्षमा आईसीपी हस्तान्तरण गर्नुपर्ने भनिए पनि त्यसमा वर्षात्को समयले काममा पार्ने प्रभाव यकिन गरेभन्दा बढी भएको निर्माण पक्षको दाबी छ । आईसीपीका लागि आवश्यक संरचनाहरू निर्माण भइसकेका छन् । संरचनामा रङरोगन, साजसज्जा, विद्युत् आपूर्तिका लागि वाइरिङ र अन्तिम फिनिसिङको कामसमेत धेरै सकिएको व्यवस्थापक साहको भनाइ छ ।
 
भन्सारको प्रशासकीय भवन, अध्यागमन कार्यालयका लागि आवश्यक संरचना, डिस्पेन्सरी भवन, दुईवटा प्रोसेसिङ यार्ड, इलेक्ट्रिकल सव–स्टेशन भवन, प्रवेशद्वार, सुरक्षा गार्ड आवास भवनको काम सकिएको छ । अन्तर्राष्ट्रियस्तरको संयुक्त भन्सार जाँचचौकी निर्माणका लागि नेपाल र भारत सरकारबीच सन् २००५ मा सम्झौता भएको थियो । भारततर्फ तत्काल जग्गा अधिग्रहण भई सन् २०१० देखि निर्माण शुरु भएर सन् २०१६ को अन्तिममा कार्य सम्पन्न भएको थियो ।