काँकडभिट्टा/ नेपालको पूर्वी नाका काँकडभिट्टामा भारतीय रुपैयाँको अवैध कारोबार हुने गरेको पाइएको छ । अवैध कारोबार हुने गरे पनि प्रहरी रमिते बन्ने गरेको स्थानीयको गुनासो छ । 
 
भारतीय सीमा जोडिएको नाका काँकडभिट्टा बजारमा भारु अवैध कारोबार हुने गरे पनि सम्बन्धित निकाय मौन रहेको छ । काँकडभिट्टा बसपार्क क्षेत्रमा महिला र पुरुष अवैधरूपमा भारुको कारोबार गर्दै आइरहेका छन् । मेचीनगर मनी चेञ्जरका अध्यक्ष बिष्णु मैनालीका अनुसार अवैधरूपमा कारोबार बढे पनि प्रहरीले खासै चासो देखाएको छैन ।
 
मैनालीका अनुसार भारतको कालेबुङ र अन्यत्रबाट रोजगारी गरेर आएका मानिसहरूलाई प्रलोभनमा पारेर सस्तो दर रेटमा रकम साट्ने गरेका छन् । झापा जिल्ला ट्राभल्स व्यवसायी सङ्घका पूर्वअध्यक्ष शङ्कर भट्टराईका अनुसार आन्तरिक तथा बाह्य पर्यटक काँकडभिट्टामा आउँदै गर्दा नै आफ्नो मान्छे भन्दै हात तान्ने गरेका कारण नकरात्मक असर पुग्ने गरेको बताए । नाका क्षेत्रमा हुने यस्ता अवैध कारोबार रोक्न स्थानीय सरकार प्रहरी प्रशासनले समयमा ध्यान नदिने हो भने सर्वसाधरण ठगिनेक्रम बढ्ने  मैनालीले बताए । 
 
काँकडभिट्टाका युवा व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापा जिल्ला उपाध्यक्ष  टोलबहादुर सुनारले भने बढी मात्रामा व्यवसायीहरू ठगिने गरेका बताए । मोटो रकम साट्नका लागि बैङ्क र चेञ्जरमा ढिलो हुने भएकाले उनीहरूले बिचौलियासँगै पैसा साट्ने र कति पैसा नक्कली हुने गरेको उनले बताए ।
 
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायक उपरीक्षक महेश थापाका अनुसार केही दिन अघि अबैध रूपमा भारू र नेपाली रूपियाँको कारोवार गर्ने महिला र पुरूषलाई इलाका प्रहरी कार्यालय लिएर सम्झाएको उनले बताए अब यसलाई नियन्त्रण गर्नका लागि  प्रहरी प्रशाशन  सकृय भएर लाग्ने थापाले बताए ।