ताप्लेजुङ/ हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति ताप्लेजुङ आएकै दिन फर्किएको छ । गत फागुन १५ गते ताप्लेजुङको सिस्नेखोलास्थित तारेभीरमा भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न बनेको समिति ताप्लेजुङ आएकै दिन फर्किएको हो ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानबिन गर्न आइतबार बिहान मात्रै ताप्लेजुङ आइपुगेको थियो । बिहान आइपुगेको समितिले बिहान मन्दिर पुगेर दिउँसो घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीसँग सुकेटारमा छलफल गरेको थियो । घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीलाई हेलिकोप्टरमा काफ्लेपाटीबाट सुकेटार ल्याएर त्यही छलफल गरेपछि टोली फिर्ता गएको हो ।
पाथीभरा मन्दिर पुगेको टोलीले त्यहाँका पुजारी र घटनासँग सरोकार राख्ने अन्यसँग मन्दिर परिसरमै जानकारी लिएको थियो । दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो । समितिमा नेपाली सेनाका सहायकरथी दीपकप्रसाद बास्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।