भद्रपुर/ कृषि खरिद–बिक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका ३ ठूला भवन अहिले तीन दशकदेखि प्रयोगविहीन बनेका छन् । 
 
पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि झापाको सदरमुकाममा चन्द्रगढीमा नेपाल खाद्य संस्थानबाट स्थापना भएको खाद्य गोदाम प्रयोगविहीन बन्दा पनि सरकारले चासो दिएको छैन । तीन दशकदेखि नियमित प्रयोगमा आएको छैन । २०४४ सालतिर बिर्तामोडमा खाद्य भवनसँगै कार्यालय सरेपछि चन्द्रगढीमा रहेका दुईवटा गोदाम प्रयोगविहीन बनेका हुन् । बिर्तामोड सर्नुभन्दा अघि चन्द्रगढीमा नै कार्यालय रहेको थियो ।
 
करिब दुई बिघा क्षेत्रफलभित्र रहेका २ ठूला भवनमा खाद्य र एउटा कृषि सामग्री संस्थान रहेको छ । भवन जीर्ण बन्दै गएको अवस्था छ । छानो लगाइएका जस्तापाता पुरानो हुँदा वर्षाको समयमा पानी चुहिन थालेको छ भने झारपात उम्रेर घिनलाग्दो देखिएको छ । सदरमुकाममा रहेका अन्य सरकारी कार्यालयहरू धमाधम आधुनिक शैलीमा निर्माण भइरहेका छन् । तर खाद्य आपूर्तिमार्फत् खाद्य भण्डारण गर्ने गोदाम भने नाजुक बनेको छ । 
 
विशेषगरी मेची अञ्चलका इलाम, ताप्लेजुङ, पाँचथर  जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएका गोदाम पछिल्लो समय प्रयोगविहीन बनेका हुन् । सबै क्षेत्रमा यातायात र सडक सञ्जालले गर्दा उपभोग्य सामग्री पुग्न थालेपछि गोदाम प्रयोगविहीन बन्न पुगेको जानकारहरू बताउँछन् । बिर्तामोडमा कार्यालय सरेपछि चन्द्रगढीमा रहेको एउटा भवनमा प्रहरी प्रशासन, उद्योगीलगायत उच्च दर्जाका व्यक्तिले ब्याडमिण्टन खेल्ने र कृषि सामग्री संस्थानको भवनमा उसु प्रशिक्षण सञ्चालन गरिएको थियो ।
 
लगभग २० वर्षजति खेलमैदानमा परिणत भएको स्थानीय बताउँछन् । २०७२ सालको भूकम्पमा बङ्गलादेशबाट आएका भूकम्प पीडितका राहत सामग्री राखेपछि ब्याडमिण्टन बन्द भएको थियो । अर्को भवनलाई निर्वाचन कार्यालयले भाडामा लिएको थियो । निर्वाचन सम्पन्न भइसकेको र हाल राहत सामग्री पनि वितरण भइसकेको अवस्था छ । 
 
राहत सामग्री राखेका कारण तत्काल भवन खाली नभएपछि हाल शारीरिक व्यायामको लागि मेची रङ्शालाछेउ हल निर्माण गरी प्रयोगमा ल्याइएको छ । कृषकबाट सङ्कलित धान, गहुँ, चामल पहाडीक्षेत्रमा बिक्री गर्दै आएको भवन तीन दशकयता नामै मात्रको हुन पुगेको झापा उद्योग वाणिज्य सङ्घका महासचिव पङ्कजकुमार शर्माले बताए । स्थानीय सर्वसाधारणलाई सहज होस् भन्दै खोलिएको खाद्य गोदाम प्रयोगविहीन हुनु कृषक र सर्वसाधारणको हितमा नभएको शर्माको आरोप छ ।
 
प्रयोगविहीन भवनलाई भद्रपुर भन्सारले सुख्खा बन्दरगाहको रूपमा उपयोग गर्न सक्ने स्थानीय तथा कानून व्यवसायी पवन कार्कीले बताए । भन्सार देखि ५ किलोमिटरको दूरीसम्म गोदाम राख्न पाउने कानूनमा उल्लेख भए पनि जीर्ण बन्दै गएको भवनलाई मर्मत गरेर प्रयोगमा ल्याउन नेपाल सरकारले नसकेको उनको आरोप छ । सरकारी कार्यालयपरिसरमा देखिएको पार्किङ समस्यालाई समेत सो स्थान प्रयोग गर्न सकिने भए पनि कसैको चासो नभएको उनले बताए । 
 
‘कृषि सामग्री संस्थानको भवनमा मल थियो, त्यो पनि अहिले त खाली छ’ –संस्थानका पूर्व कर्मचारी थिरबहादुर कार्कीले भने । कार्कीले २०६७ मा अवकास पाइसकेका छन् । आफ्नो घर नभएका कारण रेखदेखको लागि सानो क्वार्टरमा  बस्दै आएको उनले सुनाए । जीवनभर खाद्यको कर्मचारी भएर अवकास पाए पनि घर बनाउन नसकेको उनले दुखेसो पोखे ।
 
‘गोदाममा सामान हुँदा रेखदेख गरेको पैसा आउँथ्यो, अहिले त न सामान, न पैसा’ –उनले भने, ‘हाकिमले निकालिदिएको दिनदेखि सुकुम्बासी  हुने डर छ ।’ गोदाम भाडामा लगाउनको लागि गतवर्ष सूचना प्रकाशित गर्दा बिर्तामोडको भाडा लागे पनि चन्द्रगढीको भवनको लागि कोही नआएको खाद्य संस्थानका मेची अञ्चल निमित्त प्रमुख महेन्द्र सिटौलाले बताए । भवन जीर्ण भएकोले मर्मत सम्भार गरेर वैकल्पिक प्रयोगमा ल्याउन छलफल भइरहेको सिटौलाको भनाइ छ ।