दमक/  ताप्लेजुङ मेरिङ्गदेन गाउँपालिका–१ का  विश्वनाथ लङ्गवाले  किरात माइक्रो फाइनान्स खोल्न भन्दै २०७२ साल फागुनको महिनामा १ लाख ५ हजार रुपैयाँ दिए ।
 
उनलाई  किरात जातिको अवस्थालाई उत्थान गर्ने र भविष्यमा आफ्ना छोराछोरीले समेत काम गर्न पाउने प्रलोभन देखाए । लगानी गर्दा पैसै–पैसा कमाइ हुने प्रलोभन सुनाएका कारण फाइनान्स कम्पनीमा लगानी गरेको बताए । लगानी गर्ने अवधि सकिनै लागेको भन्दै जतिसक्दो चाँडो लगानी गर्ने रकमको व्यवस्थापन गर्न दबावसमेत दिइएको उनले बताए ।
 
भविष्यमा राम्रो हुने र छोराछोरीले ‘पेन्सन’ सहितको कामसमेत पाउने भएपछि उनले साहुँबाट सैकडा ४ का दरले ऋण खोजेर फाइनान्समा लगानी गरे । तर अहिले उनको त्यो लगानी कहाँ छ कुनै पत्तो छैन । तर साहुँ भने त्यसबेलाको साँवाब्याजसहितको हिसाब माग्दै आएका छन् । 
 
धनकुटाका कवीन तुम्वापोले पनि माइक्रोफाइनान्स सञ्चालनका लागि भनेर  १ लाख दुई हजार रुपैयाँ तिरेर सदस्य बने । उनलाई पनि उज्वल भविष्यका सपना देखाइएको थियो । किरात माइक्रो फाइनान्समा लगानी गरेर किरात समुदायकै आर्थिक अवस्था सुधार गर्ने  किरात समुदायमा रोजगारीको सिर्जना गरी  वित्तीय साक्षरताका समेत विकास गरिने भन्दै रकम सङ्कलन गरिएको तुम्वाहाम्फेले बताए । तर त्यसरी सङ्कलन गरिएको करोडौ रकम  प्रस्तावित सञ्चालकहरूले मनखुसी खर्च गरेको पाइएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् ।
 
इलाममा केन्द्रीय कार्यालय राख्ने गरी पाँच वर्षअघि शुरु गरिएको प्रस्तावित माइक्रोफाइनान्सको प्रक्रिया टुङ्गो नहुँदै जम्मा भएको रकम आफूखसी खर्च गरिएको सार्वजनिक भएपछि त्यसमा आवद्ध डेढ सय बढी शेयर सदस्य विचल्लीमा परेका हुन् । उनीहरूले सञ्चालकहरू विरुद्ध फाुगन २ गते दमक प्रहरीमा उजुरीसमेत दिएका थिए ।
 
पीडित शेयर सदस्यहरूले माइक्रोफाइनान्सका प्रस्तावित अध्यक्ष डकेन्द्रसिंह थेगिम, कमलप्रसाद नेम्बाङ्ग, नरसिंह फागो, ठटबहादुर पन्धाक, सरस्वती राई र पूर्णबहादुर बझीसहितका विरुद्ध उजुरी गरेका हुन् । फाइनान्सको दर्तासहितका सञ्चालन प्रक्रिया सम्पन्न गर्न थेगिमसहितका सञ्चालक पदाधिकारीले सर्वसाधारणहरूसँग उठाइएको रकम आफूभित्र लगानी गरेको शेयर सदस्यले थाह पाएपछि प्रहरी कहाँ ठगी मुद्दा हालेको अर्का सदस्य तारा नन्द चेम्जोङले बताए  । उनी भन्छन्, –‘फाइनान्सको नाममा जिम्मेवार मान्छेबाट सर्वसाधारण ठगिएका छन् ।’ सर्वसाधारणहरूले रकम खोजतलास गरेपछि उनीहरू अहिले वहाना देखाउँदै आएका छन् ।’
 
आफनो समुदायका नाममा माइक्रोफाइनान्स खोल्ने भनेर दमकसहित पूर्व झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, धनकुटा, ताप्लेजुङलगायतका क्षेत्रमा बस्दै आएका किरात समुदायहरूले फाइनान्सका लागि १ करोड ५८ लाख बढी जम्मा गरेका थिए । फाइनान्समा १ सय ७८ जनाले कम्तीमा ५० हजार माथि शेयर रकम जम्मा गरेका थिए ।
 
तर यसरी जम्मा गरिएको रकम पाँच वर्षसम्म पदाधिकारीहरूले सार्वजनिक गर्नेतर्फ अत्तोपत्तो नगरेपछि बाध्य भएर गुहार माग्नु परेको नरेन्द्र वनेमले बताए ।  मङ्गलबार दमकमा पत्रकार सम्मेलन नै गरेर पीडितहरूले  फाइनान्सनै दर्ता नगरी पदाधिकारीहरूले रकम अवैध ढङ्गले चलखेल गरेको बताए ।
 
बैङ्किङ्ग कारोबार छुट्टै बनाउने उद्देश्यले शुरु गरिएको फाइनान्स तथापि नियमानुसार दर्तासमेत गरिएको थिएन् । दर्ता गर्ने भन्दै जम्मा गरिएको रकम नियम विपरीत आफूखुसी खर्च गरेको आरोप लागेको छ । अधिकांश किरात धर्मावलम्बीहरू भएका कारण पनि त्यस ठगी धन्दा भित्रभित्र मिलाउने भनी चलखेल शुरु भएको छ ।
 
फाइनान्सका  प्रस्तावित अध्यक्ष थेगिमले फाइनान्स दर्ता प्रक्रियामा रहेको र पैसा चलखेल नभएको दाबी गरे ।  उनले ७० देखि ८० लाख रुपैयाँ दमकका विभिन्न बैङ्कहरूमा जम्मा गरेर राखेको र बाँकी रकम सञ्चालकहरूमा लगानी गरेको बताए । फाइनान्स कम्पनी दर्ता भएर आउने बित्तिकै यसको हिसाबकिताब हुने र सबै शेयर सदस्यको खातामा समेत रकम पठाइने उनले बताए ।