भोजपुर/  जिल्लामा सवारी साधन दुर्घटना न्युनीकरणसम्बन्धी दोस्रो चरणको १५ दिने महाअभियान शुरु भएको छ । 
 
दुर्घटना न्युनीकरणसम्बन्धी महाअभियान शुक्रबार शुरु भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर र जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा र्यालीसहित कोणसभा गरी महाअभियानको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरका प्रहरी सहायक निरीक्षक प्रेम शाहले बताए ।
सवारी दुर्घटना जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशवकुमार थेबेका अनुसार अभियानका क्रममा उद्योगी व्यवसायीसँग छलफल, स्थानीय तहसँग सहकार्य, सवारी चालकलाई प्रशिक्षण, अन्तक्र्रिया, छलफल, सवारी साधनको नियमित अनुगमन, व्यवस्थापन, सरोकावालासँग छलफललगायत कार्यक्रम सञ्चालन गरिनेछ । 
 
कार्यक्रममा जिल्लामा सञ्चालनमा आएका भोजपुर सिद्धकाली यातायात प्रालि, चोमोलुङमा यातायात प्रालि, ट्याम्केमैयुम यातायात प्रालि, र हतुवागढी यातायात प्रालीलाई ट्राफिक ज्याकेट वितरण गरिएको थियो । 
 
सवारी दुर्घटना न्युनीकरणसम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का, भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले, सुरक्षा निकायका प्रमुख, यातायात व्यावसायी तथा सवारी चालकहरूको उपस्थिति रहेको थियो ।  
 
उदयपुरमा १५ दिने महाअभियान
सडक दुर्घटना न्युनीकरणका लागि उदयपुरमा पनि १५ दिने महाअभियान शुरु भएको छ । 
 
जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा शुक्रबारदेखि महाअभियान शुरु भएको हो । सदरमुकाम गाईघाटको बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान शुरु भएको थियो । कार्यक्रममा चालक र सहचालकको पहिचानका लागि तयार पारिएको पोशाक वितरण गरिएको थियो  ।
 
सवारीसाधनका चालक र परिचालकलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न अभियानको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की बताए ।
 
धनकुटामा र्याली
धनकुटामा महाअभियानको सुरुवाता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङले गरेका छन् । 
 
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट निस्किएको ¥यालीले सन्देशमुलक प्लेकार्ड, ब्यानर प्रदर्शन गर्दै धनकुटा बजार परिक्रमा गरेको छ । र्याली बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै प्रहरी प्रमुख गुरुङले नागरिकको जीउधनका रक्षा गर्न ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गर्नुपरेको स्पष्ट पारे ।  
 
झापामा पनि अभियान
झापाको बिर्तामोडमा बिहीबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सवेन्द्र खनालले महाअभियानको उद्घाटन गरे । अभियान १५औं दिनमा सुनसरीको धरानमा सम्पन्न हुनेछ । महाअभियान प्रदेश–१ का १४ जिल्लामा शुरु भएको हो