मधुमल्ला । मोरङ मिक्लाजुङको नुनसरी खोलामा परिमाणभन्दा बढी ढुङ्गागिट्टी उत्खनन् भएका कारण मिक्लाजुङ–२ र ८ मा पर्ने खेती योग्य जमीनहरू बाँझिन थालेका छन् ।
खोलाबाट तोकिएको परिमाणभन्दा बढी उत्खनन् हुन थालेपछि स्थानीयले उत्खनन् रोक्न माग गरेका छन् । यस आर्थिक वर्षमा मिक्लाजुङ गाउँपालिकाले करिब दुई लाख ५० हजार घनमिटर खोला उत्खनन्को ठेक्का पाए पनि उक्त परिमाणभन्दा बढी उत्खनन् गरेको मिक्लाजुङको छाँया सरकारले दाबी गरेको छ । उत्खनन्ले मिक्लाजुङको वडा नम्बर २ र ८ मा प्रत्यक्ष असर परेको भन्दै छाँया सरकार मिक्लाजुङले उक्त उत्खनन् तत्काल रोक्न माग गरेको हो । मिक्लाजुङ–७ को पूर्वमा मलामी टहरा र पश्चिममा लोेके चोक उत्तरको खोलाजन्य पदार्थको उत्खनन् तत्काल रोक्न माग गरेको हो । मङ्गलबार मिक्लाजुङ छायाँ सरकारले स्थानीय सरकार गठन भएपश्चात भएका कार्यहरू सन्तोषजनक र चित्त बुझ्दो नभएकाले सत्यतथ्य बुझ्नका लागि आवश्यक पर्ने प्रमाणहरू मागसहितको १७ बुँदे ज्ञापन–पत्र बुझाएको छ ।
मिक्लाजुङ छायाँ सरकारका सचिव नारायणप्रसाद भण्डारीले ज्ञापन–पत्र बुझाएका थिए । त्यसक्रममा छायाँ सरकारको औचित्यबारे छाँया सरकारका सल्लाहकार गोपाल बस्नेतले प्रष्टयाए । ज्ञापन–पत्र बुझ्दै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले कुनै गलत कार्य नभएको दाबी गरेका छन् । साथै छाँया सरकारले स्थानीय सरकार उठाएका मागहरू जस्ता गुनासा नआएको र यदी आए त्यस उपर कारवाही हुने बताए । छायाँ सरकारमा मिक्लाजुङ क्षेत्रमा रहेका राजनैतिक दलहरू नेपाली काङ्ग्रेस, राप्रपा, सङ्घीय लिम्बुवान, र खम्बुवान पार्टीले मानबहादुर राईको संयोजकत्वमा १७ सदस्यीय छायाँ सरकार गठन गरेको छ ।