धरान / हावा, पानी र स्वच्छ वातावरण कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको  सर्दू जलाधारजस्तो महत्वपूर्ण क्षेत्रलाई आरक्षित क्षेत्र घोषणा गर्नुपर्ने स्थानीय राजनीतिक दलका नेताहरूले धारणा राखेका छन् । 

विश्व पानी दिवसको अवसरमा शुक्रबार उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित ‘शहरी जलाधार क्षेत्रको व्यवस्थापन’ विषयक अन्तक्र्रियाका सहभागीले सो धारणा राखेका हुन् । आफ्नो धारणा राख्दै प्रदेश–१ की सांसद् उमिता बराइलीले सर्दू जलाधार क्षेत्रको दिगो संरक्षण गर्ने हो भने यसलाई धरान उपमहानगरपालिकाले अविलम्ब आरक्षित क्षेत्र घोषणा गर्नु बाञ्छनीय हुने बताइन् ।
 
यसैगरी पूर्व सभासद् किरणकुमार राईले जलाधार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने चाबी पाएको धरान उपमहानगरपालिकाले विशेष चासो दिएमा सबै समस्या समाधान हुन सक्ने बताउँदै यसका लागि सबै पक्षको प्रतिनिधित्व भएको एक शक्तिशाली संरक्षण समिति गठन गर्न सुझाव दिएका थिए । अन्तक्र्रियामा बोल्दै नेकपा धरान नगरका नेता अइन्द्रविक्रम बेघाले जलाधार क्षेत्रको जमिनमा मानवीय चलखेल बढ्नु, बिक्री वितरणमा धरानकै बुद्धिजीवीहरूको संलग्नता देखिनु दुर्भाग्य भएको बताए । 
 
धरान नगरपालिकाको सहयोगमा वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) ले आयोजना गरेको सो कार्यक्रमबारे प्रकाश पार्दै सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले शिवजट्टादेखि पकुवा खोलासम्म फैलिएको जलाधार क्षेत्रलाई व्यवस्थित गर्न अविलम्ब उपमहानगरपालिकाले एक अधिकार सम्पन्न धरान एकीकृत जलाधार संरक्षण समिति गठन गरी गुरुयोजना बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पढेर सुनाएका थिए । सो प्रस्तावमा जलाधार क्षेत्रको हालको बिग्रँदो अवस्थालाई सुधार गर्न नगरपालिका वा वडासमितिमात्र पर्याप्त नभई सर्वपक्षीय समिति गठन गर्न आवश्यक भएको र सो समितिले मात्र जलाधार संरक्षणको समस्या समाधान गर्न सक्ने राय दिएको थियो । 
 
कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, सङ्घीय समाजवादी फोरमका पोलिटब्युरो सदस्य दीपक मेन्याङ्बो, भूपू ब्रिटिश सेना एकता समाजका अध्यक्ष गजेन्द्र इस्वो र गौतम श्रेष्ठले पनि संरक्षण समितिको आवश्यकता औंल्याएका थिए ।