उदयपुर/ गुणस्तरीय शिक्षाका लागि उदयपुरमा स्थानीय तहले विद्युतीय हाजिरी प्रणाली सेवा शुरु गरेको छ ।
रौतामाई गाउँपालिकाले स्थानीय तहभित्रका १४ वटा मावि विद्यालयलाई विद्युतीय हाजिरी प्रणाली सेवा शुरु गराएको हो । गुणस्तरीय शिक्षाका लागि सेवा प्रवाहमा चुस्त– दुरुस्त राख्नका लागि विद्युतीय हाजिरी प्रणाली सेवा शुरु गरेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहभित्र रहेका १४ वटा मावि (१–१२) सम्मका विद्यालयलाई एक थान विद्युतीय हाजिरी सामग्री दिइएको बताइएको छ ।
समयमै विद्यालयमा शिक्षकको उपस्थित र नियमित गराई गुणस्तरीय शिक्षाका लागि विद्युतीय हाजिरी प्रणाली सेवाले ठूलो सहयोग गर्ने भएकाले उक्त सेवाको शुरुवात गरिएको रौतामाई गाउँपालिकाका प्रशासकीय अधिकृत खम्बसिंह राईले बताए । विद्युतबाट चल्ने विद्युतीय हाजिरी विद्युत्को पहुँच नपुगेका विद्यालयमा सोलारबाट प्रयोगमा आएको छ । विद्यालयमा समयमा आएर औंलाको प्रिण्ट लिएपछि उपस्थिति जनाइन्छ । इण्टरनेटको असुविधाका कारण अफ लाइनबाट नै प्रयोगमा ल्याएको राईले बताए ।
विज्ञान र प्रविधिको युगमा प्रविधिको प्रयाग गरी कागजी झण्झटबाट मुक्त गराउनका लागि पनि विद्युतीय हाजिरी प्रणाली सेवा थालिएको हो । विद्युतीय हाजिरी प्रणाली सेवा प्रभावकारी हुने आशा पालिकाले लिएको छ । कागजी हाजिरी प्रणालीमा कतिपय शिक्षकहरू विद्यालय समयमा उपस्थित नहुने तर हाजिर मिलाउने जस्ता कुसंस्कारलाई हटाएको पालिकाले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि शिक्षक नियमितता हुनु पर्ने भएकाले शिक्षकलाई नियमित बनाउन यसले ठूलो भूमिका खेल्ने छ । शिक्षक विद्यालयमा समयमा नआउने र समय नभई जाने प्रथाको विद्युतीय हाजिरी प्रणाली सेवाले अन्त्य गरेको छ ।
विद्युतीय हाजिरी प्रणाली सेवा शुरु भएपछि शिक्षकहरू विद्यालय समयभन्दा पनि केही समय अगाडि आउन थालेको जनता मावि रसुवा लाफा गाउँका प्रधानाध्यापक नरेन्द्रकुमार सिंहले बताए । प्रअ सिंहले भने, ‘हामीले अहिलेसम्म कागजी र विद्युतीय दुवैमा हाजिर गरिरहेका छौँ, तत्काल हामीले हेर्न नमिल्ने भएकाले पालिकाबाट जस्तो जोडे उस्तै छ, मेन लाइन नआइपुगेकाले सोलारबाट नै चलाइरहेका छौँ ।’ प्रअ सिंहले भने । यस हाजिरले शिक्षकहरूमा राम्रो सुधार ल्याएको उनले बताए ।