भद्रपुर/ खेत सम्याउने क्रममा जेसिबीले किचेर सह–चालकको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका–१४ प्रगतिटोलका १९ वर्षीय विक्रम राजवंशीको जेसिबीले किचेका कारण मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

भद्रपुर–३ स्थित भैंसावाडीमा बा.१ क ५३७६ नम्बरको जेसिबीले स्थानीय दधीलाल राजवंशीको खेत शनिबार साँझ पौने ७ बजे सम्याउँदै गरेको अवस्थामा तेलको ड्रम उठाउने क्रममा सोही जेसिबीका सह–चालक राजवंशीको टाउको जेसिबी मेसिनले किच्दा उनको घटनास्थलमै मृत्यु भएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।

घटनापछि चालक फरार रहेको र उनको पहिचान नखुलेको प्रहरीको भनाइ छ । जेसिबीलाई सीमा प्रहरी चौकीमा राखिएको छ भने मृतक राजवंशीको शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।