ताप्लेजुङ/ याम्फुदिनका फुजुङ लामालाई जिल्ला सदरमुकाम फुङ्लिङसम्म आइपुग्न दुईदिन लाग्छ । गाउँसम्म सडक पुगे पनि गाडी चढ्न भने करिब एकदिन आधा सडकै सडक पैदल हिँड्नुपर्छ ।

याम्फुदिनबाट हिँडेर एक दिनमा खेवाङ आइपुगिन्छ । खेवाङबाट बिहानै उठेर फेरि करिब ६ घण्टाको पैदल यात्रापछि हप्पुखोला पुगिन्छ । अनि त्यहाँबाट मात्रै गाडी चढ्न पाइन्छ । त्यो पनि सिट पाउनको लागि तीन दिनअघि नै टिकट काउण्टरमा फोन गर्नुपर्छ । हप्पुखोलासम्म त हिउँदयाममा मात्र हो । २०७२ सालमा सिरिजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेलेका बासिन्दाले मात्रै १ करोड ५० लाख रुपैयाँ सडकका लागि स्वतःस्फूर्त रूपमा उठाएर तत्कालीन सांसद् भुपेन्द्र थेवेले सांसद् विकास कोषबाट २५ लाख रुपैयाँ थपिदिएपछि गाउँसम्म सडक त आयो तर, गाडी भने नियमित हुन सकेको छैन ।

खेवाङको केन्द्र साम्दिङ बजारमा एक घर, एक व्यक्तिको भेलाले पारिवारिक अवस्था हेरेर एक परिवारले ५ देखि २० हजार रुपैयाँसम्म सहयोग सङ्कलन गरेको सिरिजङ्घा गाउँपालिका–६ खेवाङका भीमप्रसाद दाहाल बताउँछन् । गाउँलेको तन, मन र धनले आम्बेगुदिनको हप्पुखोलाबाट बाँकेटार हुँदै खेवाङ सडक पु¥याएका २ हजारभन्दा बढी परिवारको खुशी रिजन भीरको घुम्तीले खोसिदिएको छ । सडक विस्तार भएर मेहेले–खोवाङ हुँदै याम्फुदिनसम्म पुगे पनि यातायातका साधन चलेका छैनन् । ‘हामीले के के न हुन्छ भनेर गाउँलेसँग चन्दा उठाएर सडक खन्यौँ’ दाहालले भने, ‘त्यही रिजन भीरका कारण गाउँसम्म गाडी आउन सकेको छैन ।’

चालक तथा प्राविधिकहरू रिजन भीरमा सडक नबनाएसम्म यातायात नियमित गर्न नसकिने बताउँछन् । हप्पुदेखि खेवाङसम्म नियमित चल्नका लागि भने रिजन भीरको करिब आठसय मिटर सडक स्तरोन्नति गर्नै पर्छ । नाली काटेर पानी तर्काउने र सडकको माथिल्लो भागमा बायो इञ्जिनियरिङ गरेर बिरुवा रोप्नका लागि करिब १ करोड जति लाग्ने इञ्जिनियर रञ्जन गौतमले बताए । जनताले जागरुक भएर निर्माण गरेको यस सडकलाई सञ्चालनमा ल्याउनको लागि स्थानीय सरकारले बेवास्ता गरेको कञ्चनजङ्घा पर्यटकीय मार्ग निर्माण समितिका सचिव नेत्रकुमार आचार्यको आरोप छ ।

जनताले लगानी गरेको बाटोलाई दुई स्थानीय सरकार (सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका) ले चासो दिनुपर्ने आचार्यको माग छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जाने यो सडकमा अहिलेसम्म दुइटा ट्याक्सी र बेला–बेला ट्याक्टर चल्ने गरेका छन् । दुईपाङ्ग्रे मोटरसाइकल भने ठेलेर र तानेर कटाएर चलाउने गरेका छन् । यता हप्पुखोलामा भने मोटरेबल पुल निर्माणको काम भइरहेको छ । यो सडकले भेट्ने गरी सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाका दुई–दुईवटा वडा छन् ।

सिदिङ्वाको मेहेले र सुरुमखिम तथा सिरिजङ्घाको खेवाङ र याम्फुदिनका बासिन्दा हिँड्ने यो सडक भएर मामाङ्खेका बासिन्दा पनि यात्रा गर्ने गरेका छन् । याम्फुदिनसम्म यातायात चले कञ्चनजङ्घा हिमाल जाने पर्यकटकका लागि सबभन्दा बढी राहत हुन्छ । सडक सञ्चालनमा आए पर्यटकले बिर्तामोडदेखि सिधै याम्फुदिन जान पाउने थिए । उनीहरूलाई पैदलयात्रा गर्ने पाँचवटा क्याम्पको दूरी छोटो हुने थियो ।