काँकडभिट्टा । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले संविधान संसोधन गर्नुपर्ने माग पुनः दोहो¥याएका छन् ।

संघीय समाजवादी फोरम नेपालको मेचीनगरको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता राईले बहुसांस्कृतिक मुलुक भएकाले सबैलाई मान्य हुने खाल्को संविधान बनाउनुपर्ने माग दोहो¥याएका हुन् । उनले कम्युनिष्ट सरकार निरंकुस भइरहेको टिप्पणी गर्दै कम्युनिष्ट शासकको अन्त्य गर्न कुनै समय नलाग्ने दाबी गरे ।

उनले भने, ‘राणाशासन अन्त्य गरियो, कम्युनिष्ट शासन अन्त्य गर्न कुनै समय लाग्दैन ।’ उनले जनताले गणतन्त्र प्राप्ति गरेर पनि कुनै मुलभूत मुद्दाहरूमा परिवर्तनको महसुस गर्न नपाएको बताए । उनले कम्युनिष्टले देश परिवर्तन गर्न सक्दैन भनेर नै आफू ४० वर्ष एमालेमा बिताएर पनि परित्याग गर्दै संघीय समाजवादी पार्टीको स्थापना गरेको बताए ।

उनले गाउँ, नगरबाटै पार्टीलाई दर्बिलो बनाउनका लागि आफूहरू लागि परेको बताए । उनले आफ्नो पार्टीले राष्ट्रिय अखण्डता, धर्म निरपेक्षता, पहिचानसहितको संघीयता आजको आवश्यकता नारालाई मूर्तता दिने दाबी गरे । यसक्रममा मेचीनगर पार्टीको भवन शिलान्याससमेत गरिएको छ । मेचीनगर–७ का स्थानीय उमेशकुमार थापाले प्रदान गरेको एक कठ्ठा जग्गामा पार्टीको भवन बनाउन लागि परेका छन् ।

अधिवेशनले ओमप्रकाश खापुङ्गलाई अध्यक्षमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा धनकुमार राई, मीरा कार्की, सचिवमा पवनलाल मेचे, सहसचिवमा मानध्वज लिम्बू, कोषाध्यक्षमा उमा लिम्बू चयन भए । यसैगरी सदस्यहरूमा रामकुमार राउत, खिरबहादुर थापा, गुणराज राई, तरुण राई, रत्न लिम्बू, नरेश बिक, भूपिनकुमार चेम्जुङ, गजेन्द्र लिम्बू, टीका लिम्बू, कुमार राणा मगर, अबर लिम्बू, अइन्द्र सोलिङ्ग, सन्तोष योङ्गा, शन्तवीर मगर, जीवन किसानसहित ३१ सदस्यीय कार्य समिति चयन भएको हो ।