सिररा  / प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याउने अभियुक्तहरुलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा विहिबार दिउँसो २ः३० बजे एक पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेका थिए ।
प्रहरील ेपक्राउ गरेर सार्वजनिक गरिएकाहरुमा सप्तरीको राजविराज नगरपालिका–१० का २८ वर्र्षीय विष्णुदेव यादव, सोही ठाउँका २२ वर्र्षीय ब्रह्मदेव सुनरैत, सोही नगरपालिका–१६ का २८ वर्र्षीय मनोज यादव, सप्तरी कञ्चनपुर नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डल, सप्तरीकै हनुमाननगर कंकालिनी–१ का १७ वर्षीय राजेश यादव र सोही ठाउँका १७ वर्षीय उमेश यादव रहेका छन् ।
ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी हुन । मनोज शिक्षक हुन् । प्रश्नपत्र विष्णुदेव यादवले मनोज यादवलाई दिएका थिए । मनोज यादवले राजेशलाई दिएको र त्यसपछि बाहिरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
विष्णुदेवले आफ्ना भाई ब्रह्मदेवमार्फत उक्त प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । एसईईको प्रश्नपत्रलगातार दुई दिन बाहिरिए पछि प्रदेश २ मा सामाजिक र विज्ञान विषयको परीक्षा स्थगन गरिएको थियो ।
यसै विषयलाई लिएर विद्यार्थीहरू आन्दोलन र तोडफोडमा उत्रिएका थिए । लगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए ।

भोलीदेखि पुन परीक्षा
प्रदेश २ मा स्थगित गरेको एसईइ परीक्षा भोलि देखि सुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म संचालन हुने निर्णय गरेको छ ।
बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिनेछ ।
२३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।