ताप्लेजुङ/ ताप्लेजुङ सदरमुकाम फुङलिङमा २८ करोड खर्चेर खानेपानी ल्याइने भएको छ । फुङलिङ नगरपालिकाले पाथीभरा मन्दिर छेउको जम्बुधारे–मैदाने मुहानबाट पानी ल्याउने तयारी थालेको हो ।

खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले जानकारी दिए । ‘प्रदेश सरकारको सहयोगमा आयोजना अगाडि बढाएका हौं,’ उपप्रमुख भट्टराईले भने, ‘चालू आर्थिक वर्षमा एक करोड बजेट आएको छ, बाँकी अर्को वर्ष आउँछ ।’ नगरको बजेट अपुग भएकाले प्रदेश सरकारमा माग गरिएको उनले बताए । तीन वर्षभित्र सक्ने लक्ष्य रहेको उनले बताए ।

मुहानसम्म पुग्ने बाटो बनाउने, मुहानलाई घेराबारा गर्नेलगायतका काम भइरहेको मुहान रहेको वडा–११ का वडाध्यक्ष योगेश भट्टराईले बताए । फुङ्लिङ बजारमा अहिले उपभोक्ता समितिमार्फत् देवीखोला र खोक्सेखोलाबाट खानेपानीको आपूर्ति हुँदै आएकोछ । नगरपालिका र उपभोक्ता समितिको टोलीले केही दिनअघि मुहान, ट्याङ्की रहने र पाइप बिछ्याउने स्थानको अवलोकन गरेको छ । अप्ठ्यारो भूगोल र जङ्गल भएकाले लागत बढेको उपप्रमुख भट्टराईको भनाइ छ ।

जम्बुधारेआयोजना सम्पन्न भएपछि अहिलेको ट्याङ्कीमा प्रतिसेकेण्ड २० लिटर पानी थपिने उपभोक्ता समितिका अध्यक्ष कमल गुरागाईंले बताए । ‘त्यसपछि फुङलिङ बजारसहित वडा नम्बर ९, १० र ११ बाहेक ८ वटै वडाको खानेपानी समस्या समाधान हुन्छ,’ उनले भने । उपभोक्ता समितिले तीन वर्षअघि उक्त मुहानको अध्ययन गरेर खरिद गरेको थियो । अहिले आपूर्ति भइरहेको देवी र खोक्सेखोलाको पानी वर्षा हुनासाथ धमिलो आउँछ ।

खानेपानी उपभोक्ता संस्थाका अनुसार चैतमा प्रतिसेकेन्ड १४ लिटर खानेपानी आइरहेको छ । त्यो पर्याप्त मात्रामा उपभोक्ताकामा पुग्न नसक्दा दिनहुँ गुनासो हुने गरेको छ । अहिलेको वितरणलाइनमा चुहावट धेरै भएकाले उपभोक्ताकोमा पानी पु¥याउन कठिनाइ रहेको नगरपालिकाले जनाएको छ । डाँडापाखा तथा समथर जमिन, अव्यवस्थित सहरीकरण र वितरण लाइनसमेत पुरानो भएकाले चुहावट धेरै भएको हो । सदरमुकाम र आसपासमा रहेको करिब २० हजार जनसङ्ख्याका लागि पानी पर्याप्त भएको कार्यालयको बुझाइ छ ।

देवीखोला मुहानबाट प्रतिसेकेन्ड ६ नाङ्खोल्याङको भुटानेचोक मुहानबाट ४ र अबिरे मुहानबाट २ लिटर पानी आपूर्ति हुने गरेको छ । यसलाई सदरमुकामका ट्याङ्कीमा दैनिक १२ देखि १६ घण्टा जम्मा गरेर बिहान र बेलुका वितरण गरिन्छ । रातभर (१२ घण्टा) मात्रै जम्मा गर्दा पनि ५ लाख १८ हजार चार सय लिटर जम्मा हुने गरेको छ । नेपालको पानी उपभोगको परिमाणअनुसार ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति ४५ र सहरी क्षेत्रमा ६० लिटर पानी आवश्यक पर्छ ।

khanepani photo 1