चतरा/ चैते दशैंको मौलो पूजाको भोजभतेरमा मापसे गरी स्थानीय उपभोक्तालाई थर्काई हिँड्ने वन कर्मचारीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको छ ।
जिल्ला वन कार्यालय सुनसरीका फोरेस्टर श्यामनन्द पाठकसहित ३ जनालाई स्थानीयले प्रहरी चौकी भरौलको जिम्मा लगाएका हुन् । सेक्टर वन कार्यालय चक्रघट्टीअन्तर्गत सवडिभिजन वन कार्यालय नडाहामा चैते दशैंको मौलो पूजा खाएर हिँडेका वन कर्मचारीले स्थानीयलाई अभद्र व्यवहार गरेका थिए । कालिन्द्र सामुदायिक वन उपभोक्ता समितिमा उपभोक्ताले गरिरहेको काममा अवरोध गरेको स्थानीयको भनाइ छ । मापसे गरेर नियन्त्रण गुमाएका फोरेस्टर पाठकले स्थानीय उपभोक्तासँग झै–झगडा गरेको वराहक्षेत्र नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रुद्र दाहालले बताए ।
‘सरकारी कर्मचारी भएर मापसे गरेर स्थानीय उपभोक्तालाई तथानाम भनिरहेको स्थानीयले खबर गरेपछि पत्रकार, स्थानीय र प्रहरीलाई खबर गरी सुरक्षा निकायको जिम्मा लगाइएको हो’ –वडाध्यक्ष दाहालले भने ।
वन कर्मचारीले मापसे गरी हो–हल्ला गरेको खबर स्थानीयले दिएपछि स्थानीय प्रहरीसँगै सशस्त्र प्रहरी बलको टोली, जनप्रतिनिधि, स्थानीय युवा घटनास्थलमा पुगेका थिए । नडाहा–धरान सडकमा भइरहेको कामको वन कर्मचारीले सोधीखोजी गर्दा हो–हल्लाको वातावरण सिर्जना भएकाले वन कर्मचारीलाई सुरक्षित स्थानमा लगेको प्रहरीको भनाइ छ ।