विराटनगर/ २०७५ सालको माघ १० मा विराटनगर–१५ मा स्कुल भ्यान दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भए ।
 
चैतको २६ गते धरानको जिरोप्वाइन्टमा बस दुर्घटना हुँदा चालकसहित ४ जनाको ज्यान भयो । त्यसको तीन दिनपछि धरान इटहरी सडकमा कार दुर्घटना हुँदा ४ जनाको ज्यान गयो ।
 
एक नम्बर प्रदेशमा भएका सडक दुर्घटनाको विवरण हेर्ने हो भने कहालीलाग्दो अवस्था देखिन्छ । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेशभर ९ सय ६७  वटा सवारी दुर्घटना भएका छन् । 
 
साउनदेखि वैशाख ७ गतेसम्म ९ सय ६७ वटा दुर्घटनामा २ सय ७९ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । गम्भीर घाइते ७ सय ८९ र सामान्य घाइते ७ हजार ७८ जना रहेका छन् । यो हिसाबले ९ महिनामा सरदर हरेक महिना १ सय ७ दुर्घटना भए भने हरेक महिना ३१ जनाको ज्यान गयो भने ७ सय ८६ घाइते भए ।
 
आर्थिक वर्ष ०७४/७५ मा ९ सय ८९ वटा सवारी दुर्घटनामा ३ सय ४३ जनाले ज्यान गुमाएका थिए । जुन चालू आर्थिक वर्षको ९ महिनामा भएको सवारी दुर्घटनाभन्दा २२ वटा बढी हो । 
 
१ नम्बर प्रदेशमा सवारी साधनहरूको चाप दिनानु दिन बढ्दै गइरहेको देखिन्छ । सबैभन्दा बढी तीन प्राङ्ग्रे  सवारी साधनबाट दुर्घटना बढेको गौतमले बताए ।  दुर्घटनाको मुख्य कारण भने सवारी साधनको चाप रहेको डिएसपी गौतम बताउँछन् । ‘सवारी साधन दिन प्रतिदिन बढदै गएका छन्’ उनले भने, ‘साँघुरो सडक । त्यसमाथि जीर्ण अवस्थामा रहेकाले दुर्घटना हुने गरेको छ ।’ 
 
उपचारको क्रममा घाइते भण्डारीको मृत्यु
उदयपुर (ब्लाष्ट) उदयपुरको चुहाडेमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । 
 
त्रियुगा नगरपालिका–७ चुहाडेमा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कालिन्दा भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो । 
 
विपरीत दिशाबाट आउँदै गरेको लु.३ त ४४४९ नम्बरको ट्याक्टरले लु.४९ प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उदयपुरगढी गाउँपालिका–७ का ३५ वर्षीय भण्डारीलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । 
 
घाइते भण्डारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारीलाई ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।