धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा जलविहार (जेटबोट) चल्न थालेपछि मानिसको मस्तिष्कमा झट्का लागेको बताएका छन् ।
मुलुक पानी जहाजको युगमा प्रवेश गरेको अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको आइतबारको पूर्ण बैठकमा अध्यक्षता गर्दै कोशी नदीको जलविहारको प्रशंसा गरे । नेपालको राष्ट्रिय ध्वजावाहक पानीजहाज छिट्टै चल्ने दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले यसअघि फागुन २ मा पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताएका थिए । तर पानीजहाज कार्यालय उद्घाटनका बेला राखिएको ब्यानरबाहेक केही पनि नभएको आलोचना हुँदै आएको छ । पानीजहाज कार्यालयमा सह–सचिवस्तरका रजिष्ट्रार कार्यालय प्रमुख रहने गरी १६ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।
जहाज चलाउने नेपालको योजना
नेपाल सरकारले नारायणी नदीमा केन्द्रित भएर योजना बनाइरहेको छ । भारतको गङ्गा नदीबाट नारायणी नदी हुँदै नेपालसम्म आइपुग्ने गरी पानीजहाज चलाउने तयारी रहेको छ । यो पानीजहाजलाई नारायणी नदीको दासढुङ्गासम्म ल्याइनेछ । ३ मिटर गहिराइ र ६० मिटर चौडाइको नदीमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानीजहाज सञ्चालन गर्न सकिने र पाँच सय टन क्षमताका पानीजहाज नेपाल आउनसक्ने अध्ययन गरिएको भए पनि ३ सय टन क्षमताको पानी जहाज चलाउने तयारी भइरहेको अध्ययन टोलीका संयोजक माधव बेल्बासेले बताए ।
नेपालले पानीजहाज चलाउनका लागि भारतको अन्तरदेशीय जलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ । भारतीय अन्तरदेशीय प्राधिकरणले गङ्गा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार निर्माण थालेको छ ।
कोशी नदीमा सम्भावना न्यून
नेपाल सरकारले नारायणी नदीमा पानी जहाजको सम्भाव्यता अध्ययन गरिरहेको छ । तर कोशी नदीको गहिराइ र बनोटका कारण पानीजहाज चल्ने सम्भावना न्यून रहेको जानकार बताउँछन् । जेटबोट सञ्चालन गर्न कोशी नदीमा निकै बाधाव्यवधान भए पनि वर्षाको मौसम भने प्राकृतिक रूपमै बाधक छ । ‘सातवटा कोशी मिलेर बनेको यो नदी मुलुककै सबैभन्दा ठूलो नदी हो । यहाँ निकै सम्भावनाका बीच पनि अप्ठ्याराहरू पनि छन्’ वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले भने, ‘प्रकृतिलाई नियन्त्रण गर्न नसके पनि अन्य व्यवधानमा भने सङ्घीय सरकारको स्तरबाट काम हुन जरुरी छ ।’ नगरप्रमुख खनालले कोशी नदीबीचमा रहेका ठूला चट्टानलाई फुटाएर जलमार्ग खुलाउन प्रदेश र सङ्घीय सरकारलाई आह्वान गरेको बताए ।
नदीमा जेटबोट चलाइरहेको एउटा कम्पनी कोशी रिभर ट्रान्सपोटका सञ्चालक अनिल सुब्बा भन्छन्, ‘अहिले कोशी नदीमा निर्माण भएको पुलदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चोवारासम्म जेटबोट पुग्छ । तर त्यहाँभन्दा माथि जान सक्दैन । नदीमा रहेका विशाल चट्टानका कारण हामीले यात्रुहरूलाई त्यहाँसम्म लान सकेका छैनौँ ।’
सरकारले चाह्यो भने दोलालघाटसम्म बोटबाट यात्रु आवत–जावत गर्न सक्ने जेटबोट सञ्चालकहरू बताउँछन् । सुब्बा भन्छन्, ‘नदीका अब्स्ट्याकल्सहरू’ सरकारले पन्छाइदिनुपर्छ ।’ अरुणतिरबाट जाँदा सिम्ले र अखुवाटारको बीचमा पर्ने छहरालाई ‘कटिङ’ गरेर ‘साइड लाइन’ सारेमा तुम्लिङटारसम्म पुग्न सकिन्छ । हाल भसुवासम्म पुगिरहेको जेटबोट दूधकोशी र सुनकोशीको बाधा पन्छाउने हो भने बेलका–७ र हतुवागढी–९ को लाम्पातेसम्म पुग्न सक्छ । बीचमा रहेका केही ठूला चट्टानलाई हटाउने हो भने अरुणबाट तुम्लिङटार र सुनकोशीबाट दोलालघाटसम्म पुग्न सकिन्छ ।
यदि राज्यले यी बाधालाई पन्छाउने हो भने चतराबाट हिँडेर तीन दिनसम्म लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिन्छ । भोजपुरको पावला, दुङ्माना, पाङ्चा, यूँ, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यस्तै खोटाङ जिल्लाका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा चतरा आइपुग्न सक्छन् । चतराबाट चिसापानी हिँडेर जाने हो भने तीन दिनसम्म लाग्न सक्छ । यी क्षेत्रहरूबाट चतरासम्म आइपुग्न र्याफ्टिङमा झण्डै ८ घण्टा, हिँडेर ३ दिनसम्म र जेटबोटमा एकै घण्टामा आइपुग्न सकिन्छ ।