मधुमल्ला/ मोरङको उर्लाबारी, मिक्लाजुङ हुँदै पाँचथरसम्म जोड्ने उर्लाबारी नगरपालिका–१ र मिक्लाजुङ गाउँपालिका–६ मा पर्ने मिक्लु खोलाकोे बक्स पुल निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । १ नं. प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक कार्यक्रमकाबीच पुल निर्माणको शिलान्यास गरेका हुन् । पुल निर्माण अन्तर्गत प्रदेश सरकारले शुरु गरेको योजना यो नै पहिलो भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले जानकारी दिए ।
सो अवसरमा मन्त्री आङ्बोले विकास निर्माणमा तीनवटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । ठूला योजना सङ्घीय सरकारले, मझौला योजनाहरू प्रदेश सरकारले र साना योजनाहरू स्थानीय सरकारले निर्माण गर्ने बताउँदै मन्त्री आङ्बोले अबको केही वर्षमा भौतिक निर्माण क्षेत्रमा ठूलो प्रगति हासिल हुने बताए ।
विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै उनले तोकिएकै समयमा पुल निर्माण सम्पन्न गर्न स्थानीयबासीको भूमिका झनै महŒवपूर्ण हुने बताए । कार्यक्रममा प्रदेशसभा सांसद् कुलप्रसाद साम्बा र उपेन्द्र घिमिरेले निर्वाचनमा जनतासामु गरेका चुनावी प्रतिबद्धताहरू विस्तारै पूरा हुँदै गएको बताए । सांसद् साम्बाले आफूले निर्वाचनमा जनतासामु गरेका वाचाहरू आफ्नो कार्यकाल अवधिभरमा पूरा गरेरै छाड्ने उद्घोष गरे । मिक्लु खोलामा पुल निर्माण शुरु भएको र अब यही वैशाख महिनाभित्रै टाँडी–रमिते हुँदै पाँचथरसम्म पुग्ने सडकको करिब २० किलोमिटर कालोपत्रे निर्माणको ठेक्का सम्झौता हुने बताए ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उपाध्यक्ष सरला राई, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, विभिन्न राजनीतिक दलका नेता एवम् प्रतिनिधि, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो । ८६.६० मिटर लम्बाइको सो पुलको महावीर–किरातेश्वर जेभी सुकेधारा काठमाडौंले सात करोड २५ लाख ४९ हजार ७ सय ६० रुपैयाँमा ठेक्का लिएको हो । पुल आगामी २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ । यसअघि स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा उम्मेदवारहरूले सो खेलामा पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।