इटहरी/ जोगवनी–किमाथाङ्का त्रिदेशीय व्यापारिक मार्ग विस्तार इटहरीको विवादमा स्थानीयको जित भएको छ । मुख्यचौकमा स्थानीयले विरोध गर्दै आएको सडक निर्माण अन्ततः स्थानीयको जित भएको छ । सडकको बीच भागदेखि १५–१५ मिटर बढाउने गरी सहमति भएको हो ।
इटहरीको तरहरा क्षेत्रमा सडकको बीचभागदेखि २५–२५ मिटर बाटो खाली गरेर निर्माण भइरहे पनि इटहरीदेखि तरहरा जाने मुख्यचौकमा भने स्थानीयको अवरोधका कारण ६५ फिटमै ६ लेन सडक निर्माण गर्न लागेको हो । सडकलाई सेण्टर लाइनबाट दायाँ–बायाँ २५ र २५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख भए पनि ६ लेन सडक निर्माण आयोजना सडक विस्तारमा चुकेको हो ।
इटहरी चौकमा लामो समयदेखि अवरुद्ध ६ लेन सडक निर्माणमा सहमति जुटेको छ । लामो समयदेखि अवरुद्ध बाटोको सहमति जुटेर निर्माणको तयारी भइरहेको कान्छाराम कन्स्ट्रक्सनका इञ्जिनियर विमलेश यादवले इटहरीको मुख्यचौक गोर्खा डिपार्टमेण्ट स्टोरअगाडिको बाटो निर्माण तीनमहिनाभित्र शुरु हुने बताए । तरहरा जाने बाटोको ३ किलोमिटर ठेक्का कान्छारामले पाएको बताउँदै चाँडै काम शुरु गर्ने बताए ।
काम चाँडै शुरु हुने भएको छ । बाटोको चौडाइको विषयमा भएको विवाद अन्त्य भएसँगै सडक निर्माणको लागि ठेक्का लागेर काम शुरु हुनलागेको हो । ‘इटहरीको धरान रोडबाट सडक निर्माणको काम शुरु अन्तिम चरणमा पुगेको छ’ कान्छारामको इञ्जिनियर यादवले भने, ‘तरहरा, आँपगाछीमा जस्तो ठूलो बाटो हुँदैन ।’
६ लेन सडक आयोजनाको इञ्जिनियर उपेन्द्र दासले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । बाटो निर्माणको लागि केही समयदेखि विवादमा रहेको सडक निर्माण चाँडै शुरु हुने बताए । ‘स्थानीयहरूसँगको सहमतिमा बाटो निर्माणको काम अन्तिम तयारीमा लागेका छौं’–उनले भने, ‘हामीले तत्कालको लागि ६५ फिटमा बाटो निर्माण गर्ने र पछि साढे ८२ नै कायम गर्ने तयारी गरिरहेका छौं ।’
सडक १० अर्ब ९८ करोडको लागतमा निर्माण शुरु भएको ६ लेन सडकमा सुनसरीको दुहबीबजार खण्डमा मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध नगराउँदा सडक निर्माणका लागि टेण्डरसमेत आह्वान हुन सकेको छैन । त्यस्तै तरहरादेखि धरानसम्मको ठेक्कासमेत लागेको छैन ।
के छ राजपत्रमा ?
२०२१ साल फागुन ११ गतेको राजपत्रमा निस्किएको सूचनामा जोगबनी सडक–खण्डको राइट अफ वे सडकबाट २५–२५ गज हुने उल्लेख छ । त्यसको १५ दिनपछि पुनः राजपत्रमा जोगबनी धरान सडकको राइट अफ वे सडकको सेण्टर लाइनबाट २५–२५ मिटर हुने उल्लेख भयो ।
तर दुहबी क्षेत्रको २ किलोमिटर बजार क्षेत्रको बारेमा भने पुनः २०५४ साल चैत्र ३ गते राजपत्रमा सूचना जारी गर्दै सडकको राइट अफ वे घटाइयो । सरकारले ०३४ असार २० गते राजपत्रमा सडकको बीचबाट २५ मिटर दायाँ–बायाँ मापदण्ड कायम गरेको थियो ।