धरान/ धरान–१५ स्थित केके इन्टरनेसनल स्कुलका बस चालक भीम विकको दुबै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि विद्यालयले आर्थिक सहयोग जुटाएको छ ।
अभिभावक, शिक्षक कर्मचारीबाट उठाएर एक लाख ५० हजार रकम पीडितलाई उपलब्ध गराइएको हो । त्यसका लागि विद्यालयका सञ्चालक प्रवीण अग्रवालले ५० हजार ५ सय उपलब्ध गराएका थिए । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलाई हस्तान्तरण गरिएको विद्यालयका निर्देशक गिरिधारी सापकोटाले जानकारी दिए ।
काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराइरहेका विकलाई मजदुर सङ्गठन धरान अध्यक्ष कमल भट्टराईले पनि १० हजार आर्थिक सहयोग गरेका छन् । २ वर्षदेखि विद्यालयको बस चलाउँदै आएका विक दुई महिनादेखि काठमाडौंमा उपचार गराउँदै आएका छन् । केही सहयोग होस् भनेर अभिभावकसँग सल्लाह गरेर विद्यालयको तर्फबाट सहयोग जुटाइएको सापकोटाले बताए ।