सिरहा / सिरहा जिल्लामा निजी विद्यालय र पाठ्यपुस्तक बिक्रेताले पाठ्यपुस्तकमा कमिसनको चलखेल गर्दा अभिभावक मारमा परेका छन् ।
विद्यालयले विद्यार्थी भर्नासँगै अनिवार्य रूपमा अभिभावकलाई किताबको सूची दिनुपर्ने र अभिभावकले आफूले चाहेको ठाउँबाट पुस्तक खरिद गर्न पाउने व्यवस्था शिक्षा विभागले गरेको छ ।

तर, विद्यालय हाताबाट पाठ्यपुस्तक बिक्री गर्न नपाउने व्यवस्था लागू गरिए पनि यसलाई चुनौती दिँदै निजी विद्यालय र पुस्तक पसलको मिलोमतोमा ब्रह्मलुट हुने गरेको पाइएको छ । विगतमा पुस्तक पसलबाट समेत किताब खरिदमा १० देखि १५ प्रतिशत छुट पाउने गरेकोमा अहिले निजी विद्यालयले अभिभावकहरूलाई पुस्तकको सूची नै नदिने र दिए पनि उनीहरूले भनेकै पुस्तक पसल र स्टेशनरीमा जानुपर्ने बाध्यता रहेको अभिभावकको गुनासो छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडानम्बर ६ का शिवकुमार महराले भने, ‘पुस्तकमा ३० देखि ४० प्रतिशतसम्म कमिसन आउने भएकाले निजी विद्यालयले तोकेकै पसलमा पठाउने गरेका छन् ।’ शिक्षा विभागले विद्यालय हाताभित्रबाट कुनै पनि पुस्तक तथा मसलन्द सामान बिक्री गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तो गरेको भेटिएमा २५ हजार रुपैयाँ जरिवाना र दर्ता खारेज गर्न सक्नेसम्मको व्यवस्था शिक्षा नियमावलीमा छ ।

निजी विद्यालयले पुस्तक बिक्री गरे पनि यसको अनुगमन भने हुन सकेको छैन । सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले विद्यालयहरूमा नियमित अनुगमन नभएकोले यस्तो अवस्था आएको बताए । अभिभावक तथा पुस्तक पसलबाट कुनै किसिमको उजुरी नआएकाले अनुगमन नगरिएको उनी बताउँछन् ।

पुस्तक खरिदमा गतवर्ष १० देखि २० प्रतिशत छुट दिने गरिएको थियो । तर यस वर्ष पुस्तक खरिदमा अभिभावकलाई १ प्रतिशत मात्र छुट दिइएको छ । सिरहाका विद्यालयहरूले कमिसन दिने पसलको नाममा अभिभावकलाई स्लिप दिएर पठाउने गरेका छन् । कमिसनको चलखेलमा विद्यालयहरूले सिजनेवल पसलसमेत खोल्ने गरेका छन् । विद्यालयको मिलोमतोमा कतिले किराना पसलबाट नै पुस्तक बिक्री गरिरहेका छन् ।

कमिसनको चलखेलमा विद्यालयहरूले गुणस्तरहीन पुस्तकको पनि बजार बढाइदिने गरेका छन् । कमिसन नदिनेको राम्रा किताब पनि बजारमा चर्चा हुन नदिने खेल भइरहेको पुस्तक बिक्रेताहरू बताउँछन् । नेपाल पुस्तक व्यवसायी सङ्घ सिरहाका अध्यक्ष अप्पुकुमार साहले सङ्घको केन्द्रीय कार्यालयले अङ्कित मूल्यमै बेच्नुपर्ने नियम बनाएकाले छुट दिन नसकिएको बताए ।