धरान/ खाल्डाखुल्डी सडकका कारण धरान–११ का यातायात व्यवसायीसहित सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।
दैनिक आवतजावत गर्ने सडकको खाल्डाखुल्डी भए पनि मर्मतसम्भारको अभावमा सास्ती खेप्दै आएका हुन् । धरान–११ मा विष्णुचौकदेखि बीपी क्याम र मङ्गलबारेदेखि कल्याणचौकसम्मको बाटो जथाभावी खाल्डाखुल्डी भए पनि स्थानीय सरकारले निर्माणमा चासो नदेखाएको व्यवसायीहरूले बताए ।
सडकमा स–साना खाडल, पानी जम्ने समस्यालगायतले टेम्पु व्यवसायीहरूले हैरानी खेप्दै आएको व्यवसायी राम बिकले बताए । बिरामी यात्रुलाई ओसारपसार गर्दा अति समस्या हुने गरेको टेम्पो व्यवसायी दुर्गा राईले बताए । खाल्डाखुल्डी सडकका कारण दुर्घटनाको सम्भावना पनि बढेको राईले गुनासो गरे ।
मङ्गलबारेदेखि बीपीसम्मको बाटो निर्माण भइरहेको धरान–११ का वडाध्यक्ष बाबुलाल लामाले बताए । गत वर्ष मापदण्डअनुसार ५० फिटको बाटो निर्माणका लागि बजेट छुट्याए पनि स्थानीयले सडकका लागि जग्गा उपलब्ध नगराएपछि सडक निर्माणले तीव्रता नपाएको अध्यक्ष लामाले बताए । सडक मर्मतका लागि भने तात्कालीन योजना केही नभएको अध्यक्ष लामाले बताए ।