विराटनगर/ प्रहरीमा सेवा लिने सेवाग्राहीको सहजताको लागि मोरङ प्रहरीले लागू गरेको ‘सेवा प्रभाव कार्ड’ प्रभावकारी बन्दै गएको छ ।
प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरूप मोरङ प्रहरीले सञ्चालन गरेको ‘सेवा प्रभाव कार्ड’ प्रभावकारी बनिरहेको हो । कार्ड लागू भएको २० दिनमा १ हजार ५ सय ७० जना सेवाग्राहीले ‘सेवा प्रभाव कार्ड’ लिएको मोरङ प्रहरीको प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए । सेवा प्रभाव कार्डको शुभराम्भ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी केदारप्रसाद रिजालले ४ वैशाखमा गरेका थिए ।
सेवा प्रभाव कार्ड लागू भएसँगै मोरङ प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको आफ्नो समस्याअनुसारको कार्ड पाउने गरेका थिए । जुन मोरङ प्रहरी कार्यालयको प्रवेशद्वार नजिक रहेको नागरिक सहायता कक्षमा हुने गरेको थियो । मोरङ प्रहरीले सेवाग्राहीको समस्याअनुसारको पाँच प्रकारको सेवा प्रभाव कार्ड रहेको थियो । सेवाग्राहीले मोरङ प्रहरीको हिरासतमा रहेका थुनवाहरूलाई भेटघाटको लागि रातो कार्ड दिने गरेको छ । त्यस्तै कार्य शाखामा सेवा लिन पहेँलो, महिला तथा बालबालिका शाखामा सेवा लिन सेतो, उजुरी छानबिन शाखाको लागि निलो र अपराध अनुसन्धान शाखाको लागि हरियो रङ्गको सेवा प्रभाव कार्ड बनाएको थियो ।
‘सेवाग्राहीले आफ्नो चाहेको कुन सेवा हो त्यो रोजेर प्रहरी कार्यालयभित्र गएर सहज रूपमा सेवा लिन पाउनेछन्,’ डिसपी श्रेष्ठले भने, ‘कार्डअनुसारको कुन शाखा के सेवा लिने त्यो पनि ढोकामा लेखिएको हुनेछ । जसले गर्दा पढ्न नसक्ने सेवाग्राहीले पनि रङ्गको आधारमा सेवा लिन सक्नेछन् ।’ उनकाअनुसार प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सेवा पनि पाउने र उनीहरूको अभिलेखीकरण गर्न पनि यो सेवा शुरु गरिएको बताए ।
शाखामा पहेँलो रङ्गको कार्ड लिई सेवा लिन आउने ४ सय ७७, अपराध अनुसन्धान शाखामा हरियो रङ्गको कार्ड लिई सेवा लिन आउनेको २ सय ४४, उजुरी छानबिन शाखामा निलो रङ्गको कार्ड लिई सेवा लिन आउने ३ सय ८८, हिरासत कक्षमा रातो रङ्गको कार्ड लिई सेवा लिन आउने ३ सय ६३ जना र महिला तथा बालबालिका सेवा केन्द्रमा सेतो रङ्गको कार्ड लिई सेवा लिन आउने ९८ जना गरी १ हजार ५ सय ७० जनाले सेवा लिएको डिएपी श्रेष्ठले जानकारी दिए । सेवा प्रवाह कार्ड लागू भएपछि सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न सजिलो भएको उनले बताए ।