विराटनगर/ मोरङको कटहरी गाउँपालिका–२ मा स्तरोन्नति भइरहेको तीन वटा भित्री सडकहरू गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
निर्वाचित जनप्रतिनिधिले योजना बाँडेर स्तरोन्नति गरिरहेका सडक प्राविधिक मापदण्डविपरीत बनेको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्तरोन्नति गरिरहेका सडकमा माटो पुर्नुपर्ने ठाउँमा ग्राभेल, ग्राभेल गरिसकेका बाटोमा माटोले पुरिएको स्थानीय बताउँछन् । गाउँपालिकाले सडक निर्माणका लागि २० फिटको मापदण्ड निर्धारण गरेको छ । ढल तथा नालाबाहेक २० फिटको बाटो बन्नुपर्ने भए पनि १६ फिटका बाटाहरूमा ग्राभेल गरिएको छ । गाउँपालिकाले तय गरेको मापदण्ड नपु¥याई निर्माण तथा स्तरोन्नति गरिएका कटरी–२ को तीन वटा भित्री सडक गुणस्तरहीन भएपछि स्थानीयले प्रभावकारी छानबिन हुनुपर्ने माग गरेका हुन् ।
कटहरी–२ को करिब ३ किलोमिटर चार वटा सडक स्तरोन्नतिको लागि ६० लाख बजेट छुटयाएकोमध्ये अहिले तीन वटा सडक निमार्णको लागि साढे ३४ लाख रुपैयाँ बजेट विनियोजन भएर काम सञ्चालनमा छ । कटहरी–२ को वडा कार्यपालिका टोललाई जोड्ने माईस्थानदेखि कृषि सडक हुँदै जीवन विकाससम्मको ८ सय ८० मिटर सडक ग्राभेलका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो सडकको अनुगमन गर्ने जिम्मेवारी वडा सदस्य कमला कोइरालालाई दिइएको छ ।
यसैगरी तीनसय मिटर दूरीको सडक ग्राभेलका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन भएको शङ्कर गिरीको घरदेखि कृषि सडक जोड्ने बाटोको अनुगमनको जिम्मेवारीसमेत सदस्य कोइरालालाई नै दिइएको छ । मुस्लिम टोलदेखि कृषि सडकसम्मको पाँचबसय मिटर सडक ग्राभेलका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसको अनुगमन गर्ने जिम्मेवारी कलादेवी राजबंशीले पाएकी छन् । वडाकै कदम टोलीदेखि साझा मार्ग (होलाई मार्ग) का लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पाँचसय मिटर सडकमा माटो पुर्ने, ग्राभेल गर्ने र दुईसय मिटरसम्म एकतर्फी रिटेनिङ वाल लगाउनु पर्ने सडककोे अनुगमनको जिम्मेवारी वडा सदस्य जयप्रकाश पासवानलाई दिइएको छ । अर्का वडा सदस्य मालती ऋषिदेवले १५ लाख रुपैयाँ बजेट विनियोजन भएको सुरेन्द्र राजबंशीको घरदेखि (कोइरी टोल) जोड्ने सडकको अनुगमन गर्ने जिम्मेवारी लिएका छन् ।
स्तरोन्नति गरिएका सात सय मिटर सडक अनुगमन गर्ने जिम्मेवारी पाएका वडा सदस्य पासवानले अहिले काम भइरहेको गुणस्तरहीन भन्न नमिल्ने बताए । ‘स्तरोन्नति भएको सडकहरूमा हामीले पनि अनुगमन र निगरानी गर्दै आएका छौं,’ उनले भने, ‘निर्माणको क्रममा गुणस्तरहीन देखिए तत्काल पुनः निमार्ण गर्न निर्देशन दिने गरेका छौं ।’ वडा नम्बर २ भित्र स्तरोन्नति भइरहेका सडकको प्राविधिक लागत र परीक्षण गर्ने जिम्मेवारीमा रहेकी सव–ओभरसियर अञ्जु सुवेदीले स्थानीयले आफ्नो जमिन एक इञ्चसम्म पनि छोड्न नमानेपछि जनप्रतिनिधिकै निर्देशनअनुसार मापदण्ड घटाएर बाटो निर्माण भइरहेको बताइन् ।
निर्माण भइरहेका सडकहरूमा उपभोक्ता समितिले माटो पुर्ने र ग्राभेल गर्ने काम धमाधम गरिरहेकाले अहिले नै गुणस्तरहीन भन्न नमिल्ने उनले बताइन् । प्राविधिकले निर्वाचित जनप्रतिनिधिको मातहतमा रहेर काम गर्नुपर्ने बाध्यताका कारण कतिपय सडकहरू निर्माणमा समस्या देखिए पनि त्यसलाई सच्याइने सुवेदीको भनाइ थियो । यता कटहरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर पाण्डेले स्तरोन्नतिको काम भइरहेका सडकको अनुगमनको जिम्मेवारी वडा सदस्यलाई रहेकाले कमसल भन्ने आरोप लगाउने समय आइनसकेको बताए ।