मधुमल्ला/ मिस्टर हिमालय शारीरिक सुगठन सातौं संस्करण प्रतियोगितामा शारीरिक सुगठन खेलाडी महिला एथलेटिक्स फिजिक रजनी श्रेष्ठलाई सम्मान गरिएको छ ।

मङ्गलबार दुई छुट्टा–छुट्टै कार्यक्रमका बीच गृहनगर मोरङको मिक्लाजुङ–९ मधुमल्लामा रजनी श्रेष्ठलाई सम्मान गरिएको हो । फिजिक श्रेष्ठलाई ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मधुमल्ला र रोयल जिम हाउस मधुमल्लाले सम्मान गरेको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मधुमल्लाको तर्फबाट ब्रह्माकुमारी निलम दिदी र रोयल जिम हाउस मधुमल्लाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यले मेडल तथा खादा ओढाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले रजनीको सफलताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि पूर्ण सफलताको कामना व्यक्त गरेका थिए । रजनीले डिभाइनकी सुजिता मानन्धर र पावर हाउसकी पूजा श्रेष्ठलाई पछि पार्दै पहिलोे स्थान ओगटेकी थिइन् । त्यस्तै प्रतियोगितामा डिभाइनकी सुजिता मानन्धर दोस्रो र पावर हाउसकी पूजा श्रेष्ठ तेस्रो स्थानमै सीमित रहेका थिए ।

सातौं संस्करणको मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता गत वैशाख २० र २१ गते सम्पन्न भएको थियो । चारै विधामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाएका थिए ।