धरान/ शनिबार धरानका विभिन्न स्थानमा भएका दुर्घटनामा सात जना घाइते भएका छन् ।

शनिबार दिउँसो धरान–१३ इन्द्रेणी चोकस्थित धरान–धनकुटा राजमार्ग सडक–खण्डमा जिरो पोइन्टबाट शिवधारातर्फ जाँदै गरेको को.१४ प ६९६ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको को.१ ह ६०१९ नम्बरको टेम्पो र विपरीत दिशाबाट आउँदै गरेको को.२ च २६८६ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक सङ्खुवासभाका २६ वर्षीय सुरज राई र पछाडि बस्ने २५ वर्षीय सुवास लिम्बू घाइते भएका छन् । उनीहरूले मादकपदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । दुवैको अवस्था सामान्य रहेको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि नियन्त्रणमा राखिएको छ ।

त्यसैगरी शनिबार साँझ धरान–१७ पटनाली स्थित धरान–महेन्द्रनगर सडक–खण्डमा महेन्द्रनगरबाट धरानतर्फ आउँदै गरेको को.२९ प ९६३५ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको को.१ ह ३०७८ नम्बरको टेम्पोलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेहरूमा मोटरसाइकल चालक उदयपुर बेलका–६ का ४० वर्षीय कृष्णबहादुर राई, टेम्पो चालक धरान–१२ का ३६ वर्षीय श्याम भुजेल, टेम्पोमा सवार धरान–१६ की २८ वर्षीया प्रतीक्षा शाक्य, धरान–१६ कै वर्ष २५ की प्रकृति राई र धरान–११ की वर्ष ४८ की निर्मला श्रेष्ठ रहेका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।