धनकुटा (भेडेटार)/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकारितालाई कुण्ठित गर्न खोजिएको नभई परिमार्जन गर्न लागिएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार धनकुटाको भेडेटारमा आयोजना गरेको प्रादेशिक आम सञ्चार नीति सम्बन्धमा सुझाव सङ्कलन कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले पत्रकारिता क्षेत्रको विकास लागि आमसञ्चार नीति परिमार्जन गरी प्रदेश सरकारले व्यवस्थित बनाउन लागेको बताएका हुन् ।

प्रदेश नं. १ का १४ वटै जिल्लाका पत्रकार महासङ्घका अध्यक्षसहित सञ्चारकर्मीहरूको सहभागितामा भएको सो कार्यक्रममा आमसञ्चार अध्ययन कार्यदलका संयोजक तथा वरिष्ठ पत्रकार  यज्ञ शर्माले प्रादेशिक आमसञ्चार नीतिसम्बन्धी अवधारणा–पत्र प्रस्तुत गरेका थिए । यसैगरी प्रदेशले बनाउन लागेको आमसञ्चार नीतिलाई प्रदेश १ मा कानून बनाएर कसरी लागू र कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा प्रदेशका सञ्चारकर्मीहरूसँग बृहत् छलफल गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले आमसञ्चार प्रतिठान बारे कार्यपत्र प्र्रस्तुत गरेका थिए भने पत्रकार लीलावल्लभ घिमिरेले श्रमजीवी पत्रकार ऐनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यसैगरी पत्रकार लीलाराज भट्टराईले सूचना र प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रादेशिक विज्ञापन नीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । चारैजनाले प्रस्तुत गरेको प्रतिवेदन तथा कार्यपत्रबारे प्रदेश १ का सञ्चारकर्मीहरूले समूहगतरूपमा छलफल गरी प्रदेश १ को आमसञ्चार नीति तयार गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले बताए ।

छलफलमा प्रदेश १ भरिका सञ्चार गृहको अवलोकन गरी तथ्याङ्क सङ्कलन गरी केन्द्र सरकारद्वारा जारी गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भए–नभएको विवरण सङ्कलन गरी मिडिया हाउसलाई श्रमजीवी ऐन लागू गर्न दबाव दिने र प्रादेशिक विज्ञापन नीति प्रभावकारीरूपमा कार्यान्वयनका लागि वातावरण तयार पार्न सरकारलाई दबाव दिने निष्कर्ष निकालेका थिए ।