बेलबारी/ मोरङको खोर्साने–केराबारी सडक–खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको निधन भएको छ ।
बिहीबार बिहान केराबारीमा भइरहेको खपतरी बस्नेतको देवाली पूजामा जाँदै गरेका बस्नेतलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको को.१ ख ४३५५ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । बस्नेत देवीझोडा सामुदायिक वनका पूर्वअध्यक्षसमेत हुन् ।
को.५ प ५५०० नम्बरको मोटरसाइकलमा सवार बस्नेतलाई टिपरले ठक्कर दिँदा उछिट्टिएको र टिपरलाई ब्याक सारेर उनलाई मारेको बताउँदै इलाका प्रहरी कार्यालय बेलबारीमा मृतकका परिवारले जाहेरी दिएको छ । घटनाको प्रकृति हेर्दा सामान्य ठक्कर मात्र नरहेको र टिपरको पछाडिको दायाँ छेउको पत्तीमा टाउकोको गिदी लागेको अवस्था हेर्दा गाडी ब्याक गरिएको प्रत्यक्षदर्शीहरूले पनि अनुमान गरेका छन् ।
मृतक बमबहादुर बस्नेतको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उता मृतकका परिवारले भने शवको प्रकृति मुचुल्का नगरी शव उठाएको भन्दै केराबारी–खोर्साने सडक–खण्ड र लालभित्ती चोकमा सडक अवरुद्ध गरेका थिए ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले दोषीलाई कारबाही गर्न कुनै कसर नराख्ने पीडित परिवारलाई आश्वासन दिएका थिए । प्रहरीले टिपर चालक र सह–चालकलाई नियन्त्रणमा लिएको छ ।