उर्लाबारी/ उर्लाबारी–मधुमल्ला सडक जीर्ण बन्दै गएकोमा एक स्थानीय गैरसरकारी संस्थाले सम्बन्धित निकायको ध्यान केन्द्रित गराएको छ ।
सो सडकमा परेका खाल्डाखुल्डी र लथालिङ्ग भएको विषयमा ध्यानाकर्षण गराउँदै समयमा मर्मत–सम्भार नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । उर्लाबारी–६ मा अवस्थित सामुदायिक विकास मञ्चले सर्वसाधारण नागरिकको तर्फबाट नेतृत्व गर्दै प्रदेश नं.१ का मुख्यमन्त्रीको कार्यालय विराटनगर, सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय विराटनगरमा ज्ञापन–पत्र बुझाएको हो ।
उर्लाबारीको मुख्य चौकदेखि मोरङको मिक्लाजुङस्थित तोरीबारीसम्मको १२ किमी दूरीमा पर्ने सडकमा अत्यन्त ठूला खाडल परी आवत–जावतमा समस्यासँगै दुर्घटना वृद्धि भएकोले आगामी १५ दिनभित्रमा मर्मत–सम्भार गर्ने कार्य शुरु गर्न ज्ञापन–पत्रमा उल्लेख सुझाइएको छ । सो संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराईको नेतृत्वमा गएको टोलीले १५ दिनभित्र मर्मत–सम्भारको कार्य शुरु नगरिए सडक अवरोधलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेसमेत चेतावनी दिएको छ ।