धरान । २०४४ सालमा धरानमा स्थापना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ०७६ सालमा अन्यत्र सारिनबाट जोगिएको छ ।
धरान उपमहानगरपालिकाले स्थायी रूपमा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि अन्यत्र सारिनबाट जोगिएको हो । उपमहानगरपालिकाले धरान–१५ वडासमिति कार्यालयअगाडिको सरकारी जग्गामध्ये तीनकठ्ठा हालै उपलब्ध गराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक होमराज दाहालले भने, ‘धरानका भूवनसिं लिम्बूको बागमहल भवनमा भ्याटबाहेक मासिक २२ हजार भाडा तिरेर ०६७ सालदेखि बस्दै आएका थियौं । २३ जनाको दरबन्दी रहेको ट्राफिक कार्यालय त्यहीँबाट सञ्चालन गर्दै आएकोमा पछिल्लो समय घरधनी लिम्बूले घर खाली गर्न भनेपछि हामी अन्यौलमा परेका थियौं । यो अन्यौलतासँगै कार्यालय नै अन्यत्र सार्नुपर्ने अवस्था आएको थियो । यसैबीच उपमहानगरपालिकाले भवन निर्माणका लागि जग्गा उपलब्ध गरायो ।’ धरानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ०४४ सालमा स्थापना भएको हो । दाहालले अब जग्गा प्राप्त भएकाले भवन निर्माणका लागि स्थानीय राजनीतिक दलका नेता, समाजसेवी, जनप्रतिनिधिहरूसँग छलफल गर्ने तयारीमा जुटेको बताए । उनले भने, ‘साथै प्रदेश सरकार र सङ्घीय सरकारसँग पनि बजेट माग्नेछौं ।’

१५ नं. वडाध्यक्ष नरेश इवारमले जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाहिर सार्न खोजिएपछि उपमहानगरपालिकाले उपयुक्त स्थानमा करिब पाँच करोड रुपैयाँ पर्ने तीन कठ्ठा जग्गा उपलब्ध गराएको बताए । उक्त ठाउँमा हाल रात्री बसपार्क, वडा प्रहरी कार्यालय, बस व्यवसायी सङ्घको काउण्टर रहेका छन् । ट्राफिक कार्यालयको भवन त्यहाँ निर्माण हुने भएपछि रात्री बसपार्कलाई तीनकुने सुन्दर बस्ती विकास आयोजनामा भानुचोक बसपार्कसँगै सारिने वडाध्यक्ष इवारमले बताए । उनले भने, ‘धरानमा पहिले रहेका धेरै सरकारी कार्यालयहरू रातारात अन्यत्र सारिए । एउटा भएको जिल्ला ट्राफिक कार्यालय पनि इनरुवा सार्न लागेका थिए । जग्गा दिएर सार्नबाट जोगायौं ।’