रङ्गेली/ प्रदेश १ का स्थानीयले बोल्ने अधिकांश भाषामा लिपि, शब्दकोश र व्याकरणको अभाव छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको कार्यदलको अध्ययन प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । मन्त्रालयले गठन गरेको स्थानीय भाषा विकास कार्यदलले २०७५ चैत्र १८ गतेदेखि ४५ दिनसम्म अध्ययन गरेको थियो । कार्यदलले प्रदेश १ को स्थानीय भाषाहरूको अवस्थासँगै सुझावसमेत पेश गरेको छ ।
कार्यदलको प्रतिवेदनअनुसार प्रदेश १ मा १ सय ६ वटा भाषा बोल्ने गरिएको छ । प्रदेशमा २६ हजार १ सय ३५ वक्ताहरूको भाषा अन्योलमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यदलले सुर्जापुरी, देवान, बाँतर, विराट राजवंशीलगायतका सूचीकृत हुन बाँकी रहेका भाषाहरूलाई सूचीकृत गरी अध्ययन गर्न सुझाव दिएको छ ।
त्यसैगरी २०६८ सालको जनगणनामा राई भाषालाई छुट्टै भाषाका रूपमा सूचीकृत गरिए पनि त्यो नामको भाषा नभएकाले हटाउन सुझाव दिएको छ । त्यसैगरी १ प्रतिशतभन्दा कम वक्ता भएका भाषाहरूलाई लोप हुनबाट जोगाउन र केही आधार भएकाको विकास गर्न संरक्षण र विकास गर्न सुझाएको छ । त्यसैगरी भाषाको पहँुच शिक्षा, सञ्चार र प्रशासनमा पुग्नु आवश्यक भएकोले त्यसको लागि राज्यले पहल गर्नुपर्ने सुझाव कार्यदलको रहेको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच कार्यदलले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै सामाजिक विकास मन्त्री घिमिरेले अध्ययनले प्रदेशमा बोलिने स्थानीय भाषाको अवस्था बुझ्न सहयोग पुगेको बताए । हस्तान्तरण कार्यक्रममा कार्यदलका संयोजक हरिप्रसाद घिमिरे, सदस्य राजेन्द्र किरातीलगायतले बोलेका थिए ।