धरान/ दिवङ्गत नगर प्रमुख तारा सुब्बाको स्मृतिमा धरान उपमहानगरले ग्रन्थ प्रकाशन गर्ने भएको छ ।

उनले धरानका लागि गरेका कामहरूको सङ्गालोका रूपमा स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको तारा सुब्बा स्मृति ग्रन्थ प्रकाशन सम्पादन समितिका संयोजक तथा धरान उपमहानगरका सल्लाहकार प्रा.डा. भीम खतिवडाले जानकारी दिए ।

उनका अनुसार उनीसँगको साहचर्य र संयोगी समयका संस्मरणहरू, उनका बारेका सूचना तथा छायाँचित्रहरूसहितको साहित्यिक रचना तथा संस्मरणहरू लेख्नका लागि आग्रह गरिएको छ ।

नगर प्रमुख सुब्बाको स्मृति ग्रन्थ सार्वजनिक गरिने र उक्त ग्रन्थमा उनको जीवनी र व्यक्तित्वका आयामहरू साथै राजनीति, समाजसेवा, जातीय जागरणमा योगदानजस्ता विषय समेटिने संयोजक खतिवडाले जानकारी दिए । समितिले त्यसका लागि तीन सयभन्दा बढीलाई संस्मारक आलेखका लागि पत्राचार गरिसकेको उनले बताए ।

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले धरानको शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको केन्द्र बनाउँने सपना पूरा गर्न योजनाबद्ध यात्रामा अघि बढेका नेता सुब्बाको विकास र समृद्धिलाई अबको नेतृत्वले पूरा गर्ने बताइन् । सुब्बाले गरेको योगदानको उच्च मूल्याङ्कनकै लागि स्मृति ग्रन्थ प्रकाशन गर्न लागिएको उनले बताइन् । ताराको वैयक्तिक जीवनी, राजनैतिक यात्रा र समाजसेवा तथा उनको व्यक्तित्वका बहुआयामहरू स्मृतिग्रन्थमा समेटिने कुरा संयोजक खतिवडाले बताए ।