धरान । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘एक्सन रुम’ नामक एक आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ ।  उक्त कक्षमा तीन वटा ठूला मनिटर जडान गरिएको छ,  जसबाट प्रधानमन्त्रीले गैरवका अायाेजनाकाे निरिक्षण तथा प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘लाइभ’ कुराकानी गर्न सक्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय गौरवका  आयोजनालाई यस कक्षसँग जोडिन आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिँदै गरेकाे पनि कार्यलयले जानकारी दिएकाे छ । जलविद्युत, खानेपानी र सिचाइँ आयोजनाको हेडवक्र्स, टनेल, बिमानस्थलहरुको मुख्य निर्माणस्थल, राजमार्गहरुको मुख्य खण्डमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिँदैछ ।

उक्त रुमसम्म कनेक्ट हुने राष्ट्रिय गौरबका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीले आफ्नै मोबाइलमै पनि हेर्न सक्नेछन् । यसका लागि प्रधानमन्त्रीले प्रयोग गर्न छुट्टै मोबाइल एप बनाइएको प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिँचाई आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिँदैछ ।

यस्तै रानीजमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको प्रत्यक्ष निगरानी पनि यसै प्रणालीबाट हुनेछ ।

यस्तै प्रदेश सरकारलाई परेका समस्या तथा उनीहरुको माग सुन्न र दुईपक्षीय समन्वयका लागि पनि टेलिप्रजेन्स सिस्टमले सहजता प्रदान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवर जानकारी दिएका छन् ।

स्राेत : अनलाइन