सिरहा/ नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।
नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि मनोमानी ढङ्गले सञ्चालन गरिरहेको पाइएपछि जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।
सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ होम, लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्ड्स हस्पिटल, कामना नर्सिङ होमलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।
त्यसैगरी मिर्चैयास्थित सहलेश पोलिक्लिनिक, आदित्य मेडिकेयर सेण्टर, वेस्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन भने ।
नवीकरण समाप्त भएका स्वास्थ्य संस्थालाई दर्ता नवीकरणको लागि दुई महिनाको समय दिए पनि अटेर गरेकाले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन पत्राचार गरिएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।