इटहरी/ इटहरीको पश्चिमलाइनबाट ४ जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीको पश्चिमलाइनमा अहिले पनि खुलेआम यौनधन्दा चलिरहेको भन्दै गाउँलेहरू विरोधमा उत्रिएका छन् । लामो समयदेखि यौनधन्दामा संलग्न हुँदै केही होटलले बदनाम गरेको भन्दै स्थानीयबासीले आपत्ति जनाएका हुन् ।

आइतबार १८ वर्षीया बालिका स्कुलकै ड्रेसमा पारिजात होटलमा छिरेपछि गाउँलेहरूले प्रहरी बोलाएर पक्राउ गरेका थिए । पश्चिमलाइनमा यौनधन्दा बढेको भन्दै स्थानीयले विरोध गरेका हुन् । केही होटलका सञ्चालिकाहरूले काठमाडौं, हेटौंडा, बुटवल, पोखरादेखिका केटीहरू झिकाएर यौनधन्दा चलाउने गरेको स्थानीयले आरोप लगाएका छन् ।

इलाका प्रहरी पकलीका इन्स्पेक्टर जितेश दाहालका अनुसार स्कुल ब्याग र किताबसहित होटलमा १८ वर्षीया बालिका भेटिएको बताए । ‘बालिका स्कुल जान्छु भनेर पारिजात होटलमा आएकी रहिछन्, उनलाई युवकसहित हामीले पक्राउ गरेका हौं’ –इन्स्पेक्टर दाहालले भने । उनले आइतबार मात्र होटलहरूबाट ४ जोडीलाई पक्राउ गरिएको जनाए ।

आइतबार नै पेन्स होटलमा खुलेआम यौनधन्दा गराइरहेको देखेपछि गाउँलेले विरोध गरेका थिए । यसरी यौनधन्दा नगराउनू भन्दै होटलमा पुगेका हीरा गिरीलाई मराणासन्न हुने गरी कुटपिट गरेको स्थानीयले बताएका छन् । गिरीसँगै कृष्ण पौडेल र सूर्यकिरण खत्रीलगायत घाइते भएका छन् ।