बिर्तामोड । झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले आधुनिक कृषिबजार निर्माणका लागि आएको बजेटले आफ्नो ससुराली घर जाने सडक बनाएका छन् ।
तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपलब्ध रकमले अध्यक्ष आलमले ससुराली जाने सडक निर्माण गरेका हुन् ।
आलमको घर कचनकवल–६ को वडाबस्तीमा पर्छ । उनको ससुराली घर पाठामारीमा छ । आलमले पाठामारी जाने सडकको फूलबारी खण्डसम्म त्यो रकम स्तरोन्नतिमा खर्चेका हुन् । आलमले कृषिबजार निर्माणको लागि आएको बजेटलाई रकमान्तर गर्दै आफ्नो ससुराली घर जाने सडक स्तरोन्नति गराएका छन् । रकमान्तरका लागि गत माघमा बसेको गाउँसभाले स्वीकृति दिएको गाउँपालिकाको रेकर्डमा उल्लेख छ ।
गत मङ्सिरमा प्रदेश सांसद् वसन्त बानियाँको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टीको कचनकवल गाउँपालिकाको भेलाले बनियानीमा रहेको बजारलाई दुईतले आधुनिक कृषिबजार बनाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो । त्यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गर्यो । नेकपाको प्रस्ताव बमोजिम सरकारले एक करोड रकम छुट्यायो । रकम विनियोजनबारे असहमति राख्दै त्यस क्षेत्रका सांसद् राजेन्द्र लिङ्देनले खर्च गर्ने ठाउँ नभएको बताएका थिए ।
‘१० लाख मागेकोमा १ करोड दिएछ, यो कार्यकर्ता पोस्नका लागि छुट्याएको हो’ सांसद् लिङ्देनले गत मङ्सिरमा बसेको संसद् बैठकमा भनेका थिए, ‘यो रकम कसरी गयो ? सङ्घीयता विरोधी म मात्र छु यहाँ भन्ने सोचेको थिएँ, मन्त्री पनि हुनुहुँदो रहेछ, अब सङ्गत गर्नुपर्ला ।’ उनले विनियोजित रकम फिर्ता नगरे अनसन बस्नेसम्मको चेतावनी संसद्मा दिएका थिए ।
स्थानीयका अनुसार बनियानी बजारमा सरकारी स्वामित्वको २२ कठ्ठा जमिन छ । त्यो ठाउँमा अहिले कृषि हाट लाग्दै आएको छ । लगभग ५ कठ्ठा जमिन अतिक्रमणमा परेको हुनसक्ने बजार समितिका संस्थापक अध्यक्ष देउमान बुढाथोकीले बताए । उनले तीन कठ्ठा क्षेत्रफलमा आधुनिक भवन निर्माण गर्न सकिने भन्दै गाउँपालिकाले स्वार्थका कारण योजना परिवर्तन गरेको आरोप लगाए । सांसद् लिङ्देनको इसारामा गाउँपालिकाले बजारको भविष्य अन्धकार बनाएको उनले बताए ।
कचनकवल गाउँपालिकामा उनै लिङ्देनका स्थानीय कार्यकर्ता आलम अध्यक्ष छन् । उपाध्यक्षसहित कार्यपालिकाको बहुमत राप्रपाको पक्षमा छ । लिङ्देनको विरोधपछि कार्यपालिकाको बैठकले हतार गरेर रकमान्तर गर्ने निर्णय गरेको हो । ‘गाउँपालिकाको बैठकले रकम सडकमा खर्च गर्ने निर्णय गरियो’ प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगरले भने, ‘उहाँबाट आएको रकमले कालोपत्रे गर्नुपर्ने प्रावधान भएको हुनाले त्यो रकमलाई बनियानी–सिंहिमारी सडक कालोपत्रे गर्न खर्च गर्न लागिएको छ ।’ स्थानीय नारायण नेपालका अनुसार बनियानी–सिंहिमारी सडकमा पहिले नै बजेट विनियोजन भएर ठेक्का प्रक्रियामा गइसकेको भए पनि कागजमा मात्र रकमान्तर गरेर अध्यक्षले ससुराली जाने सडक बनाएका हुन् ।
गाउँपालिकाले सरकारबाट प्राप्त एक करोड र आन्तरिक १० लाख रकममध्ये २५ लाख रकम खर्चेर बजारमा तीनवटा टहरा निर्माण गरेको छ । बाँकी ८५ लाख रुपैयाँले वडागाउँ–पाठामारी सडकमा ग्राभेल गरेको बताएको छ । सङ्घीय सरकारको प्रावधानअनुसार उक्त रकमले कच्ची सडक निर्माण गर्न मिल्दैन । त्यो प्रावधान बुझेपछि गाउँपालिकाले पहिले ठेक्का लागिसकेको सडक देखाउँदै अध्यक्षको ससुराली जाने सडक स्तरोन्नति गरेको हो ।
विकासको जस अन्य राजनीतिक दलले लिने भएकाले रकमान्तर गरेर भए पनि आफू अनुकूलको योजनामा पारिएको आरोप एकजना वडाध्यक्ष कुलबहादुर कार्कीले लगाए । उनले राप्रपाको बहुमत रहेको त्यो स्थानीय तहमा अरु राजनीतिक पार्टी जनप्रतिनिधिलाई बायस गर्ने गरेको कार्की बताउँछन् । मङ्गलबार बसेको गाउँपरिषद् बैठकको सूचना पनि अघिल्लो दिनमात्र दिएको कार्कीले बताए । कार्यपालिकामा दुईजना नेपाली काङ्ग्रेस र दुईजना नेकपाबाट निर्वाचित सदस्य छन् ।