लक्ष्मीमार्ग/ २८ वर्ष अघि ३५ सय २० मिटर गहिराइसम्म ड्रिल गरिसकिएको मोरङको बेलबारी ८ राधानगर स्थित रहेको पेट्रोल खानी अन्वेषण प्रकृयामा पुन थप १ हजार मिटर ड्रिल गरिने भएको छ ।

२०१६ मे १ देखी मे २५ सम्म नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले पेट्रोलीयम पदार्थ खानीको प्रारम्विक सम्भाव्यता अन्वेषण गरेको थियो । उक्त प्रारम्वीक अन्वेषण प्रकृया नेपालको बिभिन्न सम्भावित ठाँउमा गरीएको थियो । जसमध्ये दैलेख र पाल्पामा मात्र नेपाल र चीनका सरकारी प्राविधिकको संयुक्त टोलीले पेट्रोलीयम पदार्थ रहेको प्रमाणीत गरेको हुनाले हाललाई दैलेखमा सोमवार देखी अन्वेषण प्रकृया सुरु गरीएको पेट्रोलीयम अन्वेसण परियोजनाका प्रमुख शुधिर रजौरेले बताए ।

रजौरेका अनुसार मोरङको बेलवारीमा रहेको पेट्रोल खानीमा कम ड्रिल भएको कारण पेट्रोलीयम पदार्थ फेला पार्न नसकिएको हुनसक्ने भएकोले अझै करिव १ हजार मिटर जति त्यहाँ ड्रिल गर्नुपर्ने बताए । “मोरङको बेलवारीमा बाहेक नेपालको कुनैपनि ठाँउमा पेट्रोल खानी अन्वेषण प्रकृयामा यति धेरै ड्रिल नगरीएको” परियोजनाका प्रमुख रजौरेले बताए । प्रमुख रजौरेका अनुसार दैलेख र पाल्पाको अन्वेषण प्रकृया सकिन करिव अढाई वर्ष लाग्ने र त्यस पछि मोरङको अन्वेषण प्रकृया थालीने बताए ।

बेलवारी नगरपालीकाले ८ नम्बर वडामा रहेको पेट्रोलीयम खानी अन्वेषण प्रकृयामा चासो देखाएको छ । बेलवारी नगरपालीकाको चौथो नगरसभाबाट संघिय सरकार तथा प्रदेश सरकारलाई चाँडै पेट्रोलीयम खानी सन्वेषण प्रकृया अगाडी बढाउन माग गर्दै निर्णय समेत गरेको बेलवारी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुवेदिले बताए ।

महेन्द्र राजमार्ग अन्तर्गत बेलवारी कानेपोखरी सडकखण्ड बाट करिव ३ किलोमिटर दक्षीणमा पर्ने पेट्रोल खानीको अन्वेषण २७ वर्षदेखि रोकिएको छ । राजमार्गमै स्थानीय युवाहरुले पेट्रोल खानी जाने बाटो लेखेर बोर्ड समेत राखेका छन् । २०४३ सालमा इटालीयन कम्पनीको सहयोगमा पहिलो चरणमा खानीको अन्वेषण गरेको थियो । खानी तथा भुगर्व विभागले तत्कालीन समयमा तीन विघा तीन कठ्ठा जग्गा स्थानीयलाई मुअब्जा भुक्तानी गरी लिईएको थियो । केहि वर्ष अघिदेखी त्यस स्थानमा दुई जना हेरालु राखेर सो क्षेत्र घेराबेरा गरी सुुरक्षित गरिएको छ ।