विराटनगर/ जग्गाको रजिष्ट्रेशन पास गर्नका लागि जग्गाधनी र जग्गा किन्नेले सक्कलै नागरिकता भूमिसुधार तथा मालपोत कार्यालयमा अनिवार्य रूपमा ल्याउनु पर्दछ ।

जग्गा पास अथवा बिक्री गर्नका लागि सक्कलै नागरिकतासहित व्यक्ति वा अधिकृतनामा र पुर्जामा व्यक्तिसँगै अन्य सम्बन्धित पक्षको नाम उल्लेख भएमा नाम उल्लेखितलाई बुझेर मात्रै प्रक्रिया बढाउनु पर्ने प्रावधान रहेको छ । तर, विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीहरूले सक्कल नागरिकता बिनै फोटोकपीको भरमा करिब डेढ करोड मूल्य पर्ने १ बिघा ५ कठ्ठा १५ धुर जग्गा २२ लाख रूपैयाँमा पास गरिदिएकोे रहस्य खुलेको छ ।

विराटनगर–१२ की प्रमिला सुवेदी (पोखरेल) को नाममा रहेको मोरङको साविक भातीगञ्ज हाल कटहरी गापास्थित रिङरोडले छुने जग्गा पहुँचवालासँग कर्मचारी मिलेर नागरिकताको फोटोकपीका भरमा जग्गा पास गरेको रहस्य खुलेको हो ।

नागरिकताको सक्कल नभएको व्यक्तिले फोटोकपी बुझाएकै भरमा मालपोतका कर्मचारीहरूको मिलेमतोमा जग्गाको रजिष्ट्रेशन गरेर अर्र्कैको नाममा पास गराएका हुन् । भातीगञ्ज–२ (क) कित्ता नं. १४४ को उक्त जग्गा सक्कल नागरिकता बेगर मालापोतको कर्मचारीहरूसँगको मिलेमतोमा फोटोकपीको भरमा वैशाख ३० गते विराटनगरका अजय रायलाई २२ लाख रूपैयाँमा १ बिघा ५ कठ्ठा १५ धुर जग्गा पास गरेका थिए ।

प्रमिलाले रायलाई जग्गा बिक्री गरेको दुई दिनपछि सोही मूल्यमा उक्त जग्गा काठमाडौं–९ का कृष्णकुमार निरौला र चितवनकी लक्ष्मी अवालको संयुक्त नाममा जग्गा पास भएको देखिएको छ । सुवेदीसँग वैशाख ३० मा जग्गा खरिदकर्ता रायको नामबाट जेठ २ गते निरौला र लक्ष्मीको संयुक्त नाममा जग्गा पास गरिएको छ ।

जग्गा पास गर्नका लागि आवश्यक पर्ने कागजात तथा अड्डाको विवरणमा शुरुको जग्गाको कारोबारमा र दोस्रो पटकको किनबेचको कारोबारमा साक्षी बस्ने व्यक्ति भने राष्ट्रिय सहकारी बैङ्कका पूर्वअध्यक्ष रमेश पोखरेल छन् । सक्कल नागरिकता बेगर फोटोकपीको भरमा भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरका मालपोत अधिकृत रामबहादुर कार्कीले जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन् ।

श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेद, माना–चामल र अंशबण्डा मुद्दा मोरङ अदालतमा विचाराधीन रहेकै अवस्थामा १ बिघा ५ कठ्ठा १५ धुर जग्गा अर्कैको नाममा रजिष्ट्रेशन पास गराइएको छ । सक्कल नागरिकता नभएका व्यक्तिको नक्कलसमेत प्रमाणित गरिएको छैन । कर्मचारीसँगको मिलेमतोमा बदनियतपूर्ण तरिकाले जग्गाको कारोबार भएको देखिन्छ ।

अदालतमा तीनवटा मुद्दा विचाराधीन रहेको समयमा कर्मचारीसँगको मिलेमतोमा जमिन बिक्री गरिएको जग्गासँग सम्बन्धित व्यक्तिसमेत रहेका विराटनगरका पर्शुराम सुवेदीको भनाइ छ । उनले पहुँचवालासँग कर्मचारी मिलेर आर्थिक लाभ लिएर सक्कल नागरिकता बेगर जग्गा पास गरेको आरोप लगाए । रिङरोडले छोएको जमिनको सरकारी मूल्याङ्कन घटाएर राजश्वसमेत अपचलन गरिएको उनले दाबी गरे ।

यता मालपोत अधिकृत रामबहादुर कार्कीले जग्गा किनबेचमा कर्मचारीले कुनै कमिसन नखाएको दाबी गरेका छन् । ‘व्यवहारिक पक्ष हेरेर जग्गाको रजिष्ट्रेशन पास गराइएको हो’ उनले भने, ‘नागरिकताको फोटोकपीमा देखिने अनुहारसँग स्वयम् उपस्थित भएको व्यक्तिको अनुहार पनि मिल्यो । सेवाग्राहीको व्यवहारिक कठिनाइ बुझेर हामीले जग्गा पास गरिदिएका हौं ।’ यसमा कुनै प्रकारको लाभ कर्मचारीले नलिएको उनले दाबी गरे ।