इटहरी/ विभिन्न अभिव्यक्तिका कारण विवादमा आएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना पुनः भत्काउन थालेका छन् ।
यसअघि पनि केही स्थानमा डोजर लगाउँदै आएका उनले बुधबार सडक र खोला अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन थालेका हुन् ।
खोला अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका कारण इटहरी वर्षाको समयमा डुबानमा पर्ने गरेको छ । मानवीय अतिक्रमणका कारण खोलाहरू खुम्चिदो अवस्थामा पुगेपछि बर्खाको समयमा खोलाको पानी शहरी क्षेत्रमा प्रवेश गर्दा जनजीवन प्रभावित बन्ने गरेको छ ।
इटहरी डुबानको प्रमुख कारण खोला तथा कुलोपैनी अतिक्रमण भएको स्थानीयले बताउँदै आइरहेको छन् । इटहरीमा गएको वर्ष खोला बस्तीमा प्रवेश गर्दा केहीले ज्यानसमेत गुमाउन पुगेका थिए ।
मेयर चौधरीले बुधबार सडक र खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउन आफै डोजर लिएर पुगेका थिए । यसअघि डिभिएम स्कुलको भौतिक संरचना भत्काउन आफै पुगेका थिए ।
बुधबार नगर प्रहरीसहित पुगेका उनी इटहरी–१७ स्थित स्यार्सेकाली पेट्रोल पम्प आसपासको संरचना भत्काएका थिए । डोजरसहित पुगेका उनले सडक अतिक्रमण गरेर बनेका संरचना पहिलादेखि नै भत्काउन शुरु गरे पनि सर्वसाधरणहरूले अटेर गरेपछि ‘एक्सन’मा उत्रिनु परेको बताए ।
‘हामीले बारम्बार सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाउनु परेको हो’–मेयर चौधरीले भने । केहिदिन अघि मेयर चौधरीले बाटो मिचेर बनाइएको आफ्नै घरको पर्खालसमेत भत्काएका थिए ।
इटहरीको अधिकांस पैनी तथा खोला अतिक्रमण परेको भन्दै सर्वसाधरणहरूले लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन् । नगरले अतिक्रमित भएका ऐलानी जग्गाहरूको पनि खोजी तीव्र पारेको छ ।