विराटनगर । विभिन्न प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दुई जना महिला र ८ जना पुरूषलाई आकर्षक तलब पाइने भन्दै विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाने क्रममा मानव बेचबिखनमा संलग्नलाई शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने फुड्का उराव, फूलकुमारी उराव र सुनसरीका हरिनगर घुस्कीहाटका अफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए ।
पक्राउ पर्ने फुड्का र फूलकुमारी श्रीमान्, श्रीमती हुन् भने अन्सारी भारत पुर्याउने एजेण्ट रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले सोही ठाउँका युवायुवतीहरूलाई प्रभोलनमा पारी भारत पुर्याउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी खिउँजुले बताए । उनले बेचबिखन हुनबाट जोगिएका १० जनालाई उद्धार गरी आफन्तलाई बुझाइएको जानकारी दिए । उद्धार गरिएकाहरू १३ देखि ३५ वर्ष उमेर समूहका युवा रहेको प्रहरीले जनाएको छ ।
‘भारतको कश्मिरमा राम्रो रोजगारी पाइने, मासिक तलब भारु १७ हजार र ओभर टाइमको छुट्टै पारिश्रमिक हुने भन्दै युवाहरूलाई प्रलोभनमा देखाएर भारत पुर्याउने योजना बनाएको खुलेको छ’ –डिएसपी खिउँजुले भने । पक्राउ दम्पतीले युवालाई विभिन्न प्रलोभन देखाएर अफिज अन्सारी भएको ठाउँसम्म पुर्याउने गरेका थिए ।
अन्सारीले कश्मिरका ठेकेदारसँग सम्पर्कमा रहेर त्यहाँ पुर्याउने गरेका थिए । पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामकुमार तिम्सिनाले जानकारी दिए ।

बेचिनबाट यसरी जोगिए १० युवा
उराव दम्पतीले भारतका विभिन्न स्थानमा रोजगारीको लागि गाउँका युवालाई पठाउँदै आएका थिए । उनीहरूले सोही ठाउँका १० युवाहरूलाई भारतमा गए राम्रो जागिर पाइने भन्दै लामो समयदेखि प्रलोभनमा पार्दै आएका थिए । युवाहरू उराव दम्पतीको कुरामा विश्वस्त भए । रोजगारीबापत मासिक तलब भारु १७ हजार र जति काम गर्यो उति नै ओभरटाइम हुने भएपछि उनीहरू पनि दङ्ग परेका थिए । उराव दम्पतीको प्रलोभनमा परी युवाहरू भारत जान तयार भए । १० जना युवाहरू बिहीबार रोजगारीको लागि भारत जाने तयारीका साथ उराव दम्पती भएको ठाउँ उर्लाबारीमा भेला भए ।
त्यहाँबाट उराव दम्पतीले इनरुवा पुर्याए । त्यहाँ लिन कोही नआएपछि विराटनगर लगेका थिए । विराटनगरमा पनि कोही लिन आएन । बाटोमा कसैले सोधे भने बजार हिँडेको भन्नू, कोहीसँग सम्पर्क नगर्नू भनी उराव दम्पतीले सिकाएका थिए ।
उराव दम्पती आफूहरूलाई त्यहाँ पुर्याए बापत कमिसन रकम लिएर फर्कन लागेको जानकारी युवाहरूले चाल पाए । आफूहरू बेचिन लागेको जानकारी पाएपछि उनीहरूले आफन्तलाई खबर गरे । आफन्तले तत्काल प्रहरीलाई खबर गरेका थिए । तत्काल मोरङ प्रहरी र स्थानीय प्रहरीसमेत परिचालन गरी उराव दम्पती र दलाल अफिज अन्सारीलाई इप्रका उर्लाबारीको टोलीले सुनसरीबाट नियन्त्रणमा लिएको थियो ।