विराटनगर/ प्रदेश १ सरकारले कृषकको खेतमै पुगेर माटोको अवस्थाबारे जानकारी दिन बसभित्र उपकरण जडान गरिएको ‘माटो परीक्षण घुम्ती प्रयोगशाला’ स्थापना गरेको छ ।
प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषकको खेतमै पुगेर माटोको परीक्षण गरी माटोको अवस्थाबारेमा जानकारी दिन प्रयोगशाला स्थापना गरेको हो । मन्त्रालयले खरिद गरेर ल्याएको उक्त प्रयोगशाला झापाको सुरूङ्गास्थित माटो तथा मल परिक्षण प्रयोगशालालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
अबको एक साताभित्रमा घुम्ती प्रयोगशाला झापास्थित मल परीक्षण प्रयोगशालालाई हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ । कृषकले बोलाएको ठाउँमा पुगेर माटो परीक्षण गर्न मन्त्रालयले को १ ग १६० नम्बरको बसभित्र प्रयोगशाला स्थापना गरिएको हो । अहिले पहेँलो रङ्गको सवारीमा माटो परीक्षण गर्ने सम्पूर्ण उपकरणहरू जडान गरी तयारी अवस्थामा मन्त्रालयमा परिसरमा राखिएको छ । ७५ लाख लागतमा गाडीमा माटो परीक्षण घुम्ती प्रयोगशाला स्थापना गरिएको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए ।
‘कृषकको खेतमा गएर माटो परीक्षण गरी जानकारी दिने सम्पूर्ण उपकरणहरू गाडीभित्र जडान गरेर राखिएको छ,’ उनले भने, ‘कृषकले आफ्ना खेतको माटो परीक्षण गर्ने जानकारी गराउने साथ माटो परीक्षण घुम्ती प्रयोगशाला हुइँकिएर पुग्नेछ । प्राविधिकसहितको विज्ञ टोलीले माटोको परीक्षण गरी फिल्डमै कृषकलाई रिपोर्ट दिनेछन् ।’ १५/२० जना कृषकहरूको खेतको माटो परीक्षण एकै पटक गरिनेछ । बसभित्र स्थापना गरिएको माटो परीक्षण घुम्ती प्रयोगशालामा चालकसहित ५ जनाको प्राविधकको टोली हुनेछ ।
उनीहरूले कृषकको खेतमा पुगेर विभिन्न ६ प्रकारको माटोको परीक्षण गरी तत्काल फिल्डमै रिपोर्ट दिने र कृषहरूलाई विज्ञको टोलीले सुझाव पनि दिने गरेको माटो तथा मल परीक्षण प्रयोगशाला झापाका माटो विज्ञ हरि बहादुर भुजेलले बताए । गाडीमा स्थापना गरेको प्रयोगशालामा ल्याबको सम्पूर्ण उपकरण, पिएच मिटर, पोटास परीक्षण गरिने फस्फोरस, मेकानिकल सेक्टर, जनेटर, एसीलगायतका उपकरणहरू रहेको उनले बताए ।
‘घुम्ती प्रयोगशालाले माटोको ६ प्रकारको परीक्षण गरी तत्काल रिपोर्ट दिने गरेको छ,’ उनले भने । उनका अनुसार माटोको परीक्षण पछि माटोको प्राङ्गारिकको अवस्था, माटाको पिएच, नाइट्रोजन, फसफोरस, पोटास, माटोमा प्राङ्गारिक पदार्थको अवस्थाबारे र माटोको अम्लीयपनको बारेमा कृषकलाई जानकारी दिने बताए ।
‘माटोको परीक्षण पछि कृषकलाई कुन माटोमा कस्तो बाली हुने त्यसको बारेमा पनि विज्ञ टोलीले सुझावसहितको जानकारी दिनेछौं,’ उनले भने, ‘कुन बालीको लागि पिएचको मात्रा कति हुनुपर्दछ त्यस विषयमा पनि कृषकहरूलाई बुझाइन्छ ।’