भण्टाबारी/ भण्टावारी र सुनसरीका अधिकांश स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालयमा नबस्ने गरेको पाइएको छ । कर्मचारीहरूले कार्यालय समयसम्म कार्यालयमा बसेर काम गर्नुपर्नेमा हाजिर गरेर जाने गरेको पाइएको हो । सोमबार दिउँसो ३ बजेको समयमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय पुग्दा १७ जनामध्ये ४ जना कर्मचारीमात्र भेटिए ।

१७ जनामध्ये १४ जनाले हाजिर गरेकोमा दिउँसो ३ बजे ४ जना कर्मचारी मात्रै उपस्थित थिए । कार्यालय समयमा सञ्चारकर्मी पुग्दा लेखापाल इन्द्र श्रेष्ठ, सूचना अधिकारी सुभाष पोखरेल, प्राविधिक शाखाका एक कर्मचारी र एउटा कार्यालय सहयोगीमात्र उपस्थित थिए । उनीहरू चियागफमा मस्त थिए ।

आर्थिक वर्ष भर्खरै शुरु भएकोले कार्यालयमा खासै सेवाग्राही नआउने र काम पनि नभएकोले कर्मचारीहरू समयभन्दा पहिले नै हिँड्ने गरेको उनीहरूले बताए । सूचना अधिकारीको कार्यकक्ष तल भए पनि सूचना अधिकारी पोखरेल भने लेखाशाखामा एउटा होटेलको बिल मिलाउँदै गरेको अवस्थामा भेटिए । सूचना अधिकारी पोखरेलले भने, ‘कार्यालयमा घडी छैन, कर्मचारी छ–छैन म माथि भएकोले थाहा भएन ।’ उनले कार्यालयमा लगबुक, सूचना पाटी नभएको कारण को कहाँ गए भन्ने विषयमा आफूहरूलाई थाहा नभएको बताए ।

राजमार्गछेउमै भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय भए पनि सरकारी कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयसम्म बस्दैनन् । सरकारी तलब–भत्ता खाने कर्मचारीहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयमा बसेर सेवा दिनुपर्नेमा भोक्राहा नरसिंह गाउँपालिका र वडा कार्यालयका कर्मचारी कार्यालय समयसम्म नबस्ने गरेको पाइएको हो ।

भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका मात्रै होइन, जिल्लाका धेरैजसो स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरू कार्यालय समयमा कार्यालयमा नबस्दा सेवाग्राही सेवाबाट बञ्चित हुँदै आएका छन् । पेशाप्रति जिम्मेवार हुनुपर्नेमा कर्मचारीहरूको गैरजिम्मेवारीपन बढ्दै गएको एक सेवाग्राहीले गुनासो गरे । कार्यालयमा कर्मचारी र जनप्रतिनिधिहरू नबसेको र सरकारी गाडी अनि सरकारी तेलमा घरको काम गर्न व्यस्त भएको ती सेवाग्राहीले बताए ।

जिल्लाका अधिकांश स्थानीय तहका कर्मचारीहरू हाजिर गरेर जाने गरेका छन् भने जनप्रतिनिधिहरूले विभिन्न सङ्घ–संस्था वा राजनीतिक दलको कार्यक्रममा रिबन काट्ने र भाषण गरेरै दिन बिताउने गरेका छन् । सेवा लिन कार्यालय धाउने सेवाग्राहीहरू गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्म कार्यालयमा नबस्दा त्यतिकै फर्किने गरेका छन् ।

यता कार्यालयसम्म कर्मचारी उपस्थित नभएको बारेमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवसँग जिज्ञासा राख्दा उनले आफू बिरामी भएकोले कर्मचारीहरूको मनोमानी बढेको प्रतिक्रिया दिए । उनले भने, ‘लेखा अधिकृत एक हप्तायता बिदामा छन्, केही कर्मचारीको सरुवा भयो, भर्खरै गाउँसभा सम्पन्न भएकोले कामको त्यति धेरै चाप छैन ।’ कर्मचारीहरूको बारेमा सेवाग्राहीबाट पहिला पनि गुनासो आएको बताउँदै अध्यक्ष यादवले कर्मचारीको मानसिकता सुधार गर्न आफू लागिपरेको बताए ।