विराटनगर/ मोरङको गोठगाउँस्थित जी.पी.कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिचर्स सेण्टरमा चौथो ब्याचको दोस्रो सेमेष्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर विषयमा आठजना परीक्षार्थी पुनःपरीक्षण गराउनबाट बञ्चित भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय विपरीत परीक्षा नियन्त्रण कार्यालयले पुनः परीक्षण गराउन गएका विद्यार्थीलाई अवसरबाट बञ्चित हुनुपरेको हो ।

परीक्षा दिएकामध्ये अन्य विषयमा उत्तीर्ण भएका विद्यार्थीले हर्टिकल्चर विषयको पुनर्योग र पुनःपरीक्षण गराउन परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दर्ता गराएका थिए । तर, परीक्षा नियन्त्रण कार्यालयले पुनर्योग मात्रै हुनसक्ने जवाफ दियो । आठजना परीक्षार्थीले पाँचसय रुपैयाँ बुझाएर पुनर्योग गराए । पुनर्योगमा निकिता कार्कीको नतिजा सप्रियो, बाँकीको नतिजा पहिलाकै यथावत् रह्यो ।

पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले सातवटा शर्तहरूको अधीनमा रही परीक्षार्थीले माग गरेको अवस्थामा उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउने निर्णय गरेको छ । २०६९ साउन २४ गतेको निर्णयको शर्त (घ) अनुसार उत्तरपुस्तिकामा प्राप्त अङ्क विश्वविद्यालयको नियम विनियम बमोजिम पुनर्योग हुनसक्ने उल्लेख छ । यसैगरी भूलवश कुनै अङ्क नै प्रदान नभएको भए विश्वविद्यालयबाटै परीक्षण हुने उल्लेख छ ।

तर, परीक्षा नियन्त्रण कार्यालयले अनुत्तीर्ण रहेका आठजना परीक्षार्थीलाई कार्यकारी परिषद्ले गरेको निर्णय विपरीत नियम लगाएर पुनःपरीक्षणपछि भूलवश अङ्क नदिइएको देखिएमा समेत अङ्क वृद्धि गर्न नसकिने जवाफ दिएको थियो ।

कबुलियतनामा गराएर उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराइने, परीक्षा नियन्त्रण कार्यालयले पुनःपरीक्षण गराएर सही जवाफ दिइएका प्रश्नमा अङ्क वृद्धि गर्न नसकिने जवाफ दिएको विद्यार्थी हीरालाल गेलालले बताए ।

कार्यकारी परिषद्ले गरेको निर्णयको शर्त (ङ र च) मा परीक्षक र अङ्क गोप्य राखेर उत्तरपुस्तिका उपलब्ध गराएपछि परीक्षणका लागि प्रतिविषय पाँच हजार रुपैयाँ शुल्क जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ । कार्यकारी परिषद्को निर्णयको शर्त (घ) अनुसार विश्वविद्यालयबाट पुनःपरीक्षण हुने व्यवस्था विपरीत परीक्षा नियन्त्रण कार्यालयको जवाफले भने विद्यार्थीमाथि अन्याय गरेको देखिन्छ ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख परीक्षा नियन्त्रक डा.सूर्य सङ्ग्रौलाले पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरूले परीक्षणको आशा गर्न नहुने दाबी गरे । उनका अनुसार कार्यकारी परिषद् र प्राज्ञिक परिषद्ले गरेको निर्णय कार्यान्वयन गराउने निकायले त्यहीअनुसार गरेको दाबी गरेका छन् । कार्यकारी परिषद्ले विश्वविद्यालयबाटै परीक्षण गराउन सकिने भनेर गरेको निर्णयमा अङ्क थप्न सकिने भन्ने उल्लेख नभएको उनको जिकिर थियो ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को २०७४ माघ ९ गतेको निर्णयमा परीक्षाको परिणामबाट असन्तुष्ट परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको ३५ दिनभित्र पुनःपरीक्षण गराउनसक्ने उल्लेख छ ।

जि.पि.कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिचर्स सेण्टरका प्रमुख कृष्ण दाहालले परीक्षासम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित कार्यालयलाई रहेकोले आफूले केही भन्न नसक्ने बताएका छन् । उनले अन्य विषयमा सन्तोषजनक नतिजा निकालेका विद्यार्थीको सजिलो मानिएको विषयमा अनुत्तिर्ण रहनुपर्ने कारण नदेखिएको बताए ।

क्याम्पसमा चौथो ब्याचको दोस्रो सेमेस्टरमा ४१ परीक्षार्थी रहेका थिए । जसमध्ये विद्यार्थीहरू हीरालाल गेलाल, सपना खड्का, सन्दिपा तिम्सिना, निकिता कार्की, केशवकुमार बुढामगर, सुमितकुमार साह, प्रियङ्का मण्डल र सपत रुक्सार हर्टिकल्चर विषयमा फेल भएका थिए । त्यसमध्ये निकिता कार्कीको नतिजा पुनर्योगबाट उत्तिर्ण भएको आएको छ भने बाँकी विद्यार्थी पुनःपरीक्षण गराउने बाटो खोज्दै अदालतमा जाने तयारीमा रहेका छन् । गत जेठ ३० गते आएको नतिजाप्रति विद्यार्थीले असन्तुष्टि जनाउँदै आएका हुन् ।