धरान । धरान तथा पहाडी क्षेत्रबाट आउने तरकारी विषादीरहित रहेको एक अध्ययनले देखाएको छ ।

फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट धरान सुनसरीले गरेको अध्ययनले धरान आसपास र पहाडी क्षेत्रबाट आउने तरकारीमा विषादीरहित रहेको फेला परेको हो ।

धरान बजारका सागसब्जीहरुमा विषादी अवशेष परीक्षणका क्रममा काक्रा, आलु, टमाटर, रायो सागमा विषादी मापन गरिएको संस्थाका प्रतिनिधि धिरेन लिम्बूले बताए । उनले धरानमा आउने तरकारीमा सरकारले तोकेको मापदण्डका विषादीहरू मात्रै प्रयोग भएको बताए । स्थलगत अध्ययनमा फगिङसाइड र हर्वीसाइड बढीमात्रामा प्रयोग हुने भए पनि त्यो विषादी ऐन २०४८ ले तोकेका विषादीहरू नै प्रयोग भइरहेको उनले बताए ।

विराटनगरको ‘जिसिएमएस’ मेसिनमा गरिएको परीक्षणमा यस्तो भेटिएको हो । यो मेसिन विश्वको हालसम्मकै उच्चस्तरीय प्रविधि हो । धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले बेमौसमी तरकारीमा बढीभन्दा बढी विषादी हुने गरेको तथ्य बाहिर आइरहेकाले आफूहरुले बेमौसमी तरकारीलाई नै परीक्षण गरेको बताइन् ।

उनले नेपाली उत्पादनमा बढी जोड दिएमा विषादीरहित खान सकिने यो अध्ययनले पुष्टि गरेको बताए । उनले दूध र मासु पनि परीक्षणको क्रममा रहेको बताए । धरान उपमहानगरको आर्थिक सहयोगमा अध्ययन गरिएको थियो । अध्ययन धनकुटाका विभिन्न क्षेत्रसँगै धरानको ठिंगाबारी, पानबारी, विष्णुपादुका क्षेत्रमा अध्ययन अनुसन्धान गरिएको थियो ।