उदयपुर/ उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत र स्वास्थ्य शाखाकी कर्मचारीले निजी प्रयोजनका लागि कर्मचारी र सरकारी गाडी दुरुपयोग गरेका छन् ।

कोठा सर्नका लागि नगरको लेखा अधिकृत गोविन्द प्याकुरेल र स्वास्थ्य शाखाकी निका रिजालले नगर प्रहरी र नगरको गाडी दुरुपयोग गरेका हुन् । कार्यालय समयमै आफ्नो लेखा शाखा बन्द गरेर प्याकुरेलले ७ जना कर्मचारीलाई खटाई नगरकै ट्याक्टर प्रयोग गरेर कोठा सार्न लगाएका थिए । प्याकुरेल र रिजाल श्रीमान्–श्रीमती हुन् ।

अत्यधिक मात्रामा नगरको ट्याक्टर, टिपर, दमकल, मोटरसाइकललगायतका सवारीसाधन दुरुपयोग हुने गरेको छ । नगरमा कार्यरत कर्मचारीहरूले निजी प्रयोजनका लागि सवारी साधनहरूको प्रयोग गर्ने गरेको स्थानीय शत्रुधन कार्कीले बताए ।

निजी प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्न नपाइने भए पनि सम्बन्धित निकाय मौन रहेकाले जनप्रतिनिधि र कर्मचारीको मनपरी भएको स्थानीय कार्कीले बताए । सरकारले ल्याएको नीति र थालिएको गृहकार्यले कुनै प्रकारको प्रभाव नपारेको उनले बताए ।

सरकारी गाडी दुरुपयोगको त कुरै नगरौँ कोठा सर्दासमेत कर्मचारी नै दुरुपयोग गरेको स्थानीय कार्कीले बताए । गाउँमा सिंहदरबार आएपछि जनप्रतिनिधि र कर्मचारीको विलासी जिन्दगी मौलाउन थालेको उनले आरोप लगाएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले निजी सामग्रीहरू ओसार–पसार गर्नसमेत सरकारी गाडी प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । कार्यालय समयमै आफ्नो कार्यकक्षमा ताला झुण्ड्याएर नगरकै कर्मचारी र गाडी लिएर कोठा सर्न सामान बोकाएपछि आरोप लाग्नु स्वभाविक रहेको स्थानीयले बताए ।

नगरका जनप्रतिनिधि र कर्मचारीहरूले नगर प्रहरी र कार्यालय सहयोगीहरूलाई उनीहरूको निजी कामका लागि प्रयोग गर्र्दै आएको नगर प्रहरीले बताएका छन् । आफूभन्दा ठूलाबडाले भनेपछि मान्नै पर्ने भएकाले जनप्रतिनिधि र कर्मचारीको निजी कामसमेत गर्दै आएको उनीहरूले बताए ।

व्यक्तिको निजी कामका लागि नगर प्रहरी र कर्मचारी प्रयोग गरिएको पाइएपछि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई समेत ध्यानकर्षण गराइसकेको कनपा–२ का वडाध्यक्ष प्रेम थापाले बताए ।

सरकारले कर्मचारी दुरुपयोग न्यूनीकरण गर्नका लागि गृहकार्य शुरु गरे पनि स्थानीय तहदेखि नै कर्मचारी र गाडी दुरुपयोग भइरहेको यस घटनाले प्रष्ट हुन्छ ।