दमक/ झापाको गौरादह नगरपालिकामा उत्पन्न तनाव साम्य भएको छ ।
गौरादह नगरपालिकाले क्षमा याचनासहित मृतक धनवीर राजवंशीको परिवारलाई भरणपोषणका लागि राहतस्वरूप ५ लाख रूपैयाँ र इञ्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानीयबीच भएको तनाव साम्य भएको हो ।
राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिनेसमेत निर्णय गरेको छ । नगरपालिकाले नगरपालिकाको काम कारबाहीको अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीको छानबिन गरी कानूनी कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
गौरादह नगरपालिका–८ भुँडीसिमलका अन्दाजी ५८ वर्षीय मृतक धनवीर राजवंशी असोज १२ गते उपभोक्ता समितिको रकम भुक्तानीका लागि नगरपालिका गएका थिए ।
तर पटक–पटक भुक्तानीका लागि नगरपालिका गए पनि असोज १२ गते पनि भुक्तानी नपाएपछि उनी नगरपालिका मूल गेटमै बेहोस भएका थिए । उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि सोमबारदेखि मृतक राजवंशीको शव नगरपालिका परिसरमा राखी स्थानीयले प्रदर्शन गरेका थिए ।
सोमबार बेलुका करिब ९ बजे कार्यपालिका बैठक बसी पीडितलाई राहतस्वरूप २ लाख रूपैयाँ दिने र इञ्जिनियर सचिन क्षेत्रीलाई तत्काल निलम्बन गरी छानबिन समिति गठन गर्ने निर्णय गरे पनि पीडित पक्षले नमानेपछि मङ्गलबार बिहानदेखि स्थिति झन् तनावपूर्ण भएको थियो ।
कार्यालयको झ्यालको सिसा, साइन बोर्ड तोडफोड गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएको थियो ।
उक्त टहरा निर्माण गर्न मृतक राजवंशीको अध्यक्षतामा टहरा निर्माण समिति गठन भएको थियो । असार महिनाको २५ गते वडाको सिफारिस, अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदनसहित नगरपालिकाको प्राविधिक शाखामा फाइल पेश गरेका थिए ।