इनरुवा / सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ ।
सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगन्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य अकासिएको हो ।

तिहार छठ भाइटीकालगायतका हिन्दुहरूको महान् पर्वहरू नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताए । सुनसरी तरकारीका लागि उर्वर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलले बताइन् ।

यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, भिन्डी, परबल, टमाटरलगायतका तरकारीहरूको मूल्य बढेको उपभोक्ताहरूको भनाइ छ । पहिले प्रति किलो ३० रुपैयाँमा पाउने तरकारी अहिले प्रति किलो ८० देखि १०० रुपैयाँमा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताइन् ।

अहिले बजारमा काउली प्रति केजी १ सय देखि १३० रुपैयाँ, टमाटर १०० रुपैयाँ, परवल प्रति किलो १ सय देखि १ सय ५० रुपैयाँ, बोडी प्रति केजी १ सय देखि १ सय २० रुपैयाँ सम्ममा बिक्री वितरण भइरहेको उपभोक्ता चन्दन मेहताले बताए । तकारीको मूल्य आकासिएपछि उपभोक्ताहरूले आफू मारमा परेको गुनासो गरेका छन् ।