इटहरी/ पछिल्लो एक महिनामा सुनसरीमा आफन्तबाटै दुई ठूला हत्या घटना भए । कात्तिक १३ गते धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरे । श्रीमान् अर्जुन राईले श्रीमती बीना राईको हत्या गरेका थिए ।

यस्तै इटहरी–१७ मा पनि असोज २४ गते एकै परिवारका तीनजना मृत फेला परे । श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका थिए । श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका थिए भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा श्रीमान् आफैले श्रीमती र छोरीको हत्या गरी आत्महत्या गरेको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता विनोद शर्माले आफन्तबाटै हत्या हुने क्रम बढेको बताए । चालू आर्थिक वर्षको हालसम्म प्रदेश १ मा २६ वटा हत्याको घटना भएको देखिन्छ । जसमा ४२ जना पुरुष र ८ जना महिलालाई हत्या आरोपमा पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रदेश १ मा १ सय १ जनाको हत्या भयो । हत्या आरोपमा प्रहरीले १ सय १२ जना पुरुष र १८ जना महिलालाई प्रहरीले पक्राउ गरेको प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी शेखर कोइरालाले जनाए । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ सय १८ जनाको हत्या भएको थियो । हत्या आरोपमा १ सय ३७ जनालाई पक्राउ गरेको थियो । उक्त घटनामा २३ जना महिलालाई पक्राउ गरेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा १ सय ३१ वटा कतव्र्य ज्यानको मुद्दा दायर भएको थियो ।

१ सय ११ वटा मुद्दा फछ्र्यौट भए पनि २० वटा मुद्दा अहिलेसम्म किनारा लागेको पाइँदैन । त्यस्तै आर्थिक वर्ष २०७१/०७२ मा १ सय ५३ वटा कतव्र्य ज्यानसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भए पनि १ सय ३१ वटा मुद्दा फछ्र्यौट भए पनि २२ वटा मुद्दा अहिलेसम्म फछ्र्यौट भएको छैन । धेरै अपराधीहरू अहिले पनि फरार रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

प्रहरीको तथ्याङ्कअनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी सुनसरीमा रहेका छन् । गत आर्थिक वर्षमा सुनसरीमा १७ जनाले ज्यान गुमाएका छन् । मोरङमा पनि १० महिनाको अवधिमा ११ जनाको कर्तव्य ज्यानबाट मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका विराटनगरले जनाएको छ । झापा आपराधिक गतिविधिका लागि तेस्रो नम्बरमा छ । झापामा १० महिनाको अवधिमा कर्तव्य ज्यानका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

अपराधरहित समाजको परिकल्पना गर्ने प्रहरीले विभिन्न खाले नयाँ–नयाँ कार्यक्रमहरू शान्तिसुरक्षाका लागि सञ्चालन गरे पनि प्रहरीको अभियान अभियानमै सीमित देखिएको छ । प्रदेश एकको घटनालाई मात्रै आधार मान्ने हो भने पनि कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा प्रहरी चुकेको देखिएको छ । अपराध अनुसन्धानका लागि विश्वमा नै कहलिएको नेपाल प्रहरी पछिल्लो समय सफल अनुसन्धान गर्न नसक्दा आलोचित हँुदै गएको छ । प्रहरीले अनुन्धानका लागि अपराध अनुसन्धान महाशाखा (सिआईबी), तालिमप्राप्त कुकुरका साथै विशेष टोली नै खटाउने गरे पनि अपराधमा संलग्नलाई पक्राउ गर्न भने असफल जस्तै देखिएको छ ।

६६ हत्यारा अझै फरार
प्रदेश १ मा तीन आर्थिक वर्षमा हत्या गरी ६६ जना अपराधी फरार भएका छन् । हत्या गरेर फरार रहेका ६६ जना हत्यारालाई प्रहरीले भेट्न सकेको छैन । आर्थिक वर्ष २०७४÷७५ मा ९ जना पुरुष हत्या गरी फरार भएका छन् भने आर्थिक वर्ष २०७५÷७६ मा ३८ जना पुरुष र ५ जना महिला फरार छन् । त्यस्तै चालू आर्थिक वर्षमा ८ जना पुरुष र ६ जना महिला कर्तव्य ज्यानमा फरार भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कले देखाउँछ ।